काठमाडौं । प्रधानमन्त्री नियुक्त हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को रूपरेखा तयार भएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पटकपटकका छलफलपछि बिहीबार मन्त्रिपरिषद्को स्वरुप करिब टुंग्याएका हुन् । लामिछाने र शाहबीच मन्त्री चयन सन्दर्भमा पटकपटक भएका छलफलमा पार्टीलाई संकटमा जोगाउनेदेखि चुनावका बेला विज्ञ मन्त्री बनाउने बाचा प्रकट हुने देखिएको छ ।
वरिष्ठ नेता शाहले आफ्नो नेतृत्वमा हुने मन्त्रिपरिषद्मा परिणामकेन्द्रित हुने र आफ्नो स्पिट र ‘स्पिरिट’ मिल्ने टिम बनाउन खोजेका छन् । लामिछानेले आफू पार्टी चलाउने र शाहलाई सरकार चलाउने स्वरूपमा प्रस्तुत गर्न खोज्दा ‘भाजपा मोडल’ भनेरसमेत चर्चा र टिप्पणी भएपछि आफूले अन्तिममा निर्णय गर्ने भन्दै बाँकी टीमको ‘होमवर्क’ सकेका हुन् ।
लामिछानेले दुबै शीर्षनेता एकैपटक सरकारमा जान नहुने संकेत केही निकटस्थलाई गर्दै ‘मोदी राजनाथ मोडल’ भन्दै चर्चा नगर्न आग्रह गरेका हुन् । ‘वेटिङमा लामिछाने छन् भन्दै विपक्षी तथा रास्वपा विभाजन कुर्नेहरूलाई ठाउँ नदिन र एकैपटकमा डेलिभरी दिनका लागि शाह प्रधानमन्त्री र लामिछाने गृहमन्त्री मतदाताकै भावना हो, हामीले त्यही विषयमा अलिअलि छलफल गरेका पनि हौं तर उहाँहरूले अन्तिममा जे भन्यो त्यही हुन्छ,’ एक पदाधिकारीले बिहीबार राजधानीसँग भने ।
‘छरितो र परिणाममुखी मन्त्रिपरिषद् बनाउने’ भन्दै शाहले १५ सदस्यीय प्रस्ताव गरेपछिका पटकपटक भएका छलफलले अन्ततः १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने टुंगोनजिक छन् । ‘सुरुमा केही विज्ञतासहित ९ जनाको नाम दिएर बाँकीमा छलफल गरौं’ भनेपछि लामिछानेले संख्यालाई १५ बाट बढाउने प्रस्ताव गरेका थिए । निर्वाचनक्रममा प्रधानमन्त्रीका रूपमा शालाई प्रस्तावित गरेजस्तै अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्लेलाई निविकल्पजस्तै बनाइएको छ ।
अर्थमा वाग्ले तय भएजस्तै लामिछाने सरकारमा नभएको खण्डमा डोलप्रसाद अर्याल गृहमन्त्री हुने करिब पक्का छ । अर्यालले संकटका बेला पार्टीलाई सही ढंगले हाँकेको भए पनि ‘एक्सन स्पिरिट’मा बालेनले आशंका गर्दा सुदन गुरुङ गृहमन्त्री बन्नसक्ने सम्भावनासमेत बढेको छ । गुरुङको ‘रणनीतिक भूमिका र जिम्मेवारी’ विषयमा रवि र बालेन्द्रबीच बिहीबार रातिसम्म सहमति भएको खण्डमा गुरुङ शक्तिशाली गृहमन्त्री हुने छन् ।
रास्वपाले परराष्ट्र मन्त्रालयमा शिशिर खनाललाई नै करिब टुंग्याएको छ । कांग्रेस त्यागेर स्वतन्त्र सांसद हुँदै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहले परराष्ट्र दाबी गरे पनि खनाल निर्विकल्पजस्तै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुम्निमा उदासलाई करिब टुंग्याइएको छ ।
विश्वमञ्चमा नेपाली पर्यटन प्रवर्धन गर्ने भिजनसहित उदासलाई अगाडि सारिएको बुझिएको छ भने पार्टी प्रवक्ता मनीष झालाई सूचना तथा सञ्चारमन्त्रीमा लैजाने बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय एकीकरण गरी शक्तिशाली मन्त्रालय बनाएर सुनिल लम्साललाई जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई आउने सम्भावना छ । कानुनमन्त्रीका रूपमा सोविता गौतमको चर्चा चले पनि उनलाई सभामुख बनाउने सम्भावना बढेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा. लेखजंग थापा वा डा.तोसिमा कार्कीलाई आउने सम्भावना देखिएको छ ।
भूगोल समेट्नेगरी कञ्चनपुरबाट निर्वाचित दिपक बोहोरा वा केपी खनाललाई मन्त्री बनाउनुपर्ने भएकाले युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भइरहेको छ । प्रतिभा रावललाई मन्त्री बनाउने सम्भावना छ भने दलितको प्रतिनिधित्व गर्दै रिमा विश्वकर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने सम्भावना बढेको छ ।
यसैगरी, खगेन्द्र सुनारले ‘दलितमन्त्री हुनैपर्छ’ भनेका कारण महिला संख्या बढाउनका लागि रिमाको सम्भावना बढेको स्रोतको दावी छ । सरकार निर्माणका लागि मन्त्रीको नाम करिब अन्तिम चरणमा पुगे पनि आइतबार बिहान छलफलपछि अन्तिम निर्णय हुने बुझिएको छ । बाहिर आएका चर्चा र हल्ला भए पनि पार्टीमा वरिष्ठ नेता र सभापतिले छलफल गरी ल्याएको विषय पदाधिकारीमा अलिअलि छलफल गरी अन्तिम रूप दिइने बताइएको छ ।
केही मन्त्रालय एकीकरण गर्नुपर्ने र नाम हेरफेर सम्भावना भएकाले अन्तिम निर्णय शुक्रबार बिहान गरी पहिलोपटक नै पूर्णमन्त्रिपरिषद् विस्तार गरेर नयाँ सन्देश दिने वरिष्ठ नेता शाहको तयारी रहेको छ । मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय एकीकरण गर्नुपर्ने भएकाले पहिलो दिन शपथग्रहण गरेका मन्त्रीको मन्त्रालयको नाम हेरफेर हुने सम्भावना रहेको पनि रास्वपा स्रोतले बताएको छ ।
सम्बन्धित समाचार
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
पितृशोकमा परेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मधेसमा ‘शून्य’ हुँदा पनि खुसी छन् मधेसी दल
बालेन निर्विकल्प बन्दा गृह मन्त्रालयमा किचलो
वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
माइतीघरको आवाज, जेनजीहरू नारामा, आमा उता रारामा
एक कांग्रेस चार ‘सभापति’, विवाद जताततै
रवि लामिछानेको अभियोग संशोधन निर्णयविरुद्धको मुद्दामा सुनुवाइ जारी






