ललितपुर । नेवाः समुदाय अन्तर्गत स्यस्यः जातिहरुले भोलि चैत्र १४ गते शनिवार पाटनदरबार क्षेत्रमा सांस्कृतिक बाजागाजाका साथ नगर परिक्रममा गर्ने भएका छन् । स्यस्यः समाज यलको १२ औं स्थापना दिवसका अवसरमा नगर परिक्रमा, सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न लागेको हो । ‘झी स्यस्यः, झी नेवाः, झीगु तजिलजि’ (हामी स्यस्यः, हामी नेवाः, हाम्रो पहिचान) भन्ने मूल नारा सो दिवस मनाउन लागिएको हो ।
समाजका सचिव चन्द्रकृष्ण श्रेष्ठका अनुसार शनिवार बिहान ८ बजे पाटन दरबार दरबार क्षेत्र मंगलबजारबाट -यालीको शुरुआत हुनेछ । ‘दमोखिं नगडा बासुरी बाज’ को मौलिक ताल सहित सो -याली हौगल, तिच्छुगल्ली, इखालखु, बालुखा, पूर्णचण्डी, गावहाल हुँदै अशोक पार्टी प्यालेस, वालिफलमा पुगी समापन हुनेछ । हजारौंको सहभागिता रहने यो कार्यक्रम स्यस्यः समुदायको मात्र नभई सम्पूर्ण पाटनवासीका लागि पनि एउटा ऐतिहासिक दिन हुनेछ।
मूल समारोहको बिहान ११ः३० बजे अशोक पार्टी प्यालेस, बालिफलमा हुनेछ। कार्यक्रममा उद्घाटन पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले गर्नुहुनेछ । साथै, ललितपुर महानगरपालिकाका मेयर, उपमेयर, संघीय तथा प्रदेश सरकारका मन्त्री तथा सांसदहरू, प्रशासनिक र सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत रहने जनाइएको छ ।
सो अवसरमा उत्कृष्ट स्यस्यः सम्मान, उत्कृष्ट इलाका पुरस्कार, यशस्कर सम्मान,आजीवन सदस्य सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरिने समाजका सचिव श्रेष्ठले जानकारी दिए । समाजले भाषा, संस्कृति, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्व तथा विद्यार्थीहरूलाई यी सम्मानहरू प्रदान गर्न लागेको हो ।
कार्यक्रममा ‘दमोखिं नगडा बासुरी बाज’ को प्रस्तुति रहनेछ । यो नेवा समुदायको प्राचीन सांस्कृतिक धरोहर हो। एक समयमा हरेक जात्रा, तथा विभिन्न शुभकार्यमा बज्ने यो बाजा अहिले लोप हुने क्रममा रहेका छन् । स्यस्यः समाजले यस्ता लोपोन्मुख बाजाहरू युवापुस्तालाई सिकाउँदै संरक्षण गर्दै आएको छ ।
समाजका अध्यक्ष नवीनमंगल जाेशीले सम्पूर्ण स्यस्यः समुदाय तथा शुभेच्छुकहरूलाई उक्त ऐतिहासिक अवसरमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेका छन् । समाजका अनुसार ललितपुरको भित्री बस्तीमा स्यस्यः जातिका ३० हजार भन्दा बढी मतदाता रहेका छन् । यसपटकको १२औं स्थापना दिवस समुदायको एकता, पहिचान र सांस्कृतिक गौरवको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
सकिँदै करार, थपिँदै पीडा
गोदाममा ग्यास भए पनि दिदैंनन् व्यापारी
होमस्टेमा विकृति !
ओलीका पिताको निधनप्रति रविद्वारा दुःख व्यक्त
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग
वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ निफमा प्रदर्शन हुँदै
डेढ महिना अघि वेपत्ता ८७ वर्षीय बृद्धको ड्यामसाइडमा मृत फेला
‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे






