सुन्दरहरैंचा(मोरङ) । पाँचथरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। जिल्लामा निजी विद्यालयहरूबीच समन्वय, सहकार्य र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो।
गठन गरिएको तदर्थ समितिमा डिकविर (डि.बी.) गुरुङ संयोजक रहेका छन् भने सदस्यहरूमा घनेन्द्र राई, कृष्ण बस्नेत, उपेन्द्र तावाहाङ, गहेन्द्र लावती, प्रताप सेलिङ, पेम्बा केरुङ, बलबहादुर गुरुङ र बिनु शेर्पा रहेका छन्। समितिले आजकै मितिबाट नेसनल प्याब्सनको विधान र मर्मअनुसार आफ्नो कार्य, कर्तव्य तथा जिम्मेवारी सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
नयाँ कार्यसमिति गठन कार्यक्रममा बोल्दै नेसनल प्याब्सन, कोशी प्रदेशका अध्यक्ष कमल खनालले निजी तथा आवासीय विद्यालयहरूबीच आपसी सहकार्य र समन्वयलाई सुदृढ बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले यसले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्ने र जिल्लाका विद्यालयहरूलाई थप सशक्त बनाउने बताए।
नवगठित समितिले जिल्लाभरका निजी विद्यालयहरूलाई संगठित, व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको छ। साथै, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै विद्यार्थीहरूको समग्र विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समिति गठन प्रक्रियामा विशेष समन्वय तथा सक्रिय भूमिका निर्वाह गर्ने डि.बी. गुरुङप्रति नेसनल प्याब्सनले हार्दिक आभार व्यक्त गरेको छ। गुरुङको नेतृत्वदायी भूमिकाले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ।
यसैबीच, अध्यक्ष कमल खनालले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आगामी दिनहरूमा निजी शिक्षाको उन्नयन, गुणस्तरीय शिक्षण प्रणालीको विकास तथा शैक्षिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण पहलहरू गरिने अपेक्षा गरिएको छ।







