शेखर गोल्छाको मुद्दा : अदालतलाई कहिले समय पुग्दैन, कहिले हेर्नै मिल्दैन

काठमाडौं । सम्पत्ति शुद्धीकरण र धितोपत्र कारोवार कसुरमा पक्राउ परेका व्यवसायी शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाई गरेन ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेस भएको सो रिट बिहीबार हेर्न नमिल्ने भएर स्थगित भएको हो ।
प्रहरीले गत १० वैशाखमा पक्राउ गरेपछि उनकी पत्नी सीमा गोल्छाले १४ वैशाखमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बिहीबार दोस्रोपटक सुनुवाइ रोकिएको हो ।

अदालतको आदेशअनुसार गोल्छालाई बुधबार प्रहरीले ढीला गरी अदालतमा उपस्थित गराएपछि रिटमा सुनुवाइ भएर आदेश हुन सकेको थिएन । बुधबार समय अभाव देखाएको अदालतले बिहीबार यो विवाद हेर्न नमिल्ने भनेको छ ।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान र धितोपत्र कसुर गरेको अभियोगमा पक्राउ परेका गोल्छालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

हिमालय रिइन्स्योरेन्सको रकम दुरुपयोग गरी दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि छ । नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले समेत यो अभियोग पुष्टि गरेको छ ।

गोल्छा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् । हिमालय रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको अनुसन्धानमा देखिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ ले दीपक भट्टलाई गैरकानुनी काम गर्न गोल्छाले सहयोग गरेको भनेर उल्लेख गरेको थियो । ‘शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्वले भृकुटी स्टकबाट रकम लिन बाँकी भएको अवस्थामा समेत थप रकम जम्मा गरेको तथा धितोपत्र बिक्रीबापतको रकम नलिएको देखिन्छ,’ धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छाले हिमालयन रिमार्फत गरेको धितोपत्रसम्बन्धी कसुरका विषयमा राजधानीले निरन्तर समाचार प्रकाशन गरिरहेको छ । यो प्रकरणमा गोल्छाका अतिरिक्त अन्य ११ व्यवसायी र व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई पक्राउ गर्ने तयारी भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डको सिफारिस, नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत अनुसन्धानबाट सेयरलगायतका कारोबारमार्फत अपराध गरेको अभियोगमा सरकारले व्यवसायीहरूमाथि कडा निगरानी थालेको थियो ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट सुरु भएको आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले अभियोगबाट बच्न यसअघि अर्थमन्त्रीलाई समेत प्रभावमा पारेका थिए । उनीहरूकै प्रभावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबार गरेकै आधारमा कसैमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा नचलाइने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अर्थमन्त्रीलाई समेत प्रभावमा पारेका व्यवसायीमाथि गम्भीर अनुसन्धान गर्ने अडानसहित अनुसन्धान प्रक्रिया अघि बढाउन पूर्वगृहमन्त्री सुधन गुरुङले सक्रियता देखाएका थिए ।

निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा बढी सेयर लगानी रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान सुरु भएपछि हिमालयन रिका अध्यक्ष शेखर गोल्छा र सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिइसकेका छन् ।

गुरुङलाई प्रभावमा पार्न नसकेका व्यवसायीहरूले यसअघि अर्थमन्त्री वाग्लेलाई भेटेर आफूमाथि अनुसन्धान भए निजी क्षेत्रको लगानी धराशायी हुने, बैंकहरुले निजी क्षेत्रमा गरेको लगानी डुब्नेलगायतका तथ्यांक देखाएर ‘व्लाकमेलिङ’ गरेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गोल्छाले छाडेपछि अहिले हिमालयन रिको अध्यक्षमा अर्का लगानीकर्ता उदयकुमार निरौलालाई मनोनीत गरिएको छ भने सञ्चालकमा शाहिल अग्रवालको स्थानमा दीपेन्द्रकुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई मनोनीत गरिएको छ ।

हिमालयन रिइन्स्योरेन्सको झन्डै पौने ३ अर्ब रुपैयाँ हिनामिनाको विषयमा नेपाल धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले गत ३ वैशाखमा बोर्डलाई प्रतिवेदन बुझाएको थियो । बोर्डले सो प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीलाई पठाएलगत्तै गोल्छा पक्राउ परेका थिए ।
व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाहलगायतका व्यवसायीले सेयर कारोबारमा बदमासी गरेको भन्दै समितिले प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीसमक्ष पठाउन सिफारिस गरेको थियो ।

धितोपत्र बोर्डले गठन गरेको दीपेश ताम्राकार नेतृत्वको प्रारम्भिक जाँचबुझ समितिको २७ पृष्ठ लामो प्रतिवेदन र कार्यकारी निर्देशक रुपेश केसी नेतृत्वको समितिले तयार पारेको ६६ पृष्ठ लामो प्रतिवेदनले शेखर गोल्छासहितका १२ व्यवसायीमाथि गम्भीर अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको थियो । राजधानीलाई प्राप्त सो प्रतिवेदनमा धितोपत्रसम्बन्धी ऐनविपरीत सेयर कारोबार गरेको किटान छ ।
शेखर गोल्छा, राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता, सन्दीप चाचनलगायतको मिलेमतोमा कम्पनीको २ अर्ब ७३ करोड ३३ लाखभन्दा बढी रकम दीपक भट्टको नाममा सेयर खरिदमा प्रयोग भएको जाँचबुझ प्रतिवेदनमा समेत उल्लेख छ ।

नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीमा सेयर खरिद गर्दा हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, हिमालयन सेक्युरिटिज बैंकर (हिमालयन रि–इन्स्योरेन्सकै सहायक कम्पनी) को २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँ, एचएलआई (हिमालयन लाइफ इन्स्योरेन्स) लार्ज क्याप फन्डको २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

शेखर गोल्छा सञ्चालक समितिको अध्यक्ष र रोहित गुप्ता सञ्चालक समिति सदस्य भएकै बेला हिमालयन रि–इन्स्योरेन्सको यति ठूलो रकम रकम हिनामिना भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिमा प्राधिकरणमा गरेको पत्राचारअनुसार हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ खर्च गरेर अर्का सेयरधनी दीपक भट्टको नाममा नेपाल रिइन्स्युरेन्सलगायतका कम्पनीको सेयर खरिद गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट