‘आकर्षक रोजगारी’को प्रलोभनमा ठगी: ओमानमा नेपाली अलपत्र

काठमाडौ । गैर आवासीय नेपाली सोसल क्लब ओमानले ओमानमा भ्रमण भिषाको आडमा भइरहेको मानव तस्करी तथा नेपाली कामदारमाथि बढ्दो ठगीविरुद्ध कडा कदम चाल्न माग गर्दै नेपाली दूतावास मस्कटमा ज्ञापनपत्र बुझाएको छ। पछिल्लो समय विभिन्न आकर्षक प्रलोभन देखाएर भिजिट भिषामा नेपालीलाई ओमान ल्याउने, रोजगारीको झुटो आश्वासन दिने र त्यसपछि उनीहरूलाई अलपत्र पार्ने घटनाहरू तीव्र रूपमा बढ्दै गएको भन्दै संस्थाले गम्भीर चिन्ता व्यक्त गरेको हो।

क्लबका अनुसार केही दलाल तथा एजेन्टहरूले “सजिलो काम, राम्रो तलब र सुरक्षित भविष्य” को सपना देखाएर नेपाली युवायुवतीबाट प्रतिव्यक्ति २ लाखदेखि ३ लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। ठूलो रकम खर्च गरेर ओमान पुगेपछि भने धेरै नेपाली कामदार कामविहीन, कागजातविहीन र बासको समेत टुंगो नभएको अवस्थामा सडकमा भौंतारिन बाध्य भएका गुनासाहरू बढिरहेका छन्। यसले धेरै नेपालीको भविष्य अन्योलमा पार्नुका साथै मानसिक, आर्थिक र सामाजिक संकट समेत निम्त्याएको छ।

संस्थाले आफूहरूसमक्ष प्राप्त गुनासा, पीडितका बयान तथा उपलब्ध प्रमाणका आधारमा नेपाल र ओमानमै रहेका केही नेपाली दलालहरूको संलग्नता रहेको उल्लेख गरेको छ। यस्ता व्यक्तिहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि नेपालीलाई जोखिमपूर्ण अवस्थामा धकेल्दै आएको आरोप ज्ञापनपत्रमा गरिएको छ। उनीहरूले गैरकानुनी रूपमा रकम असुल्ने, कामको व्यवस्था नगर्ने, सम्पर्कविहीन हुने तथा पीडितलाई असहाय अवस्थामा छाड्ने प्रवृत्ति बढ्दै गएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।

गैर आवासीय नेपाली सोसल क्लब ओमानले यो केवल वैदेशिक रोजगारीको समस्या मात्र नभई नेपाली समुदायको प्रतिष्ठा, सुरक्षा र मानवअधिकारसँग जोडिएको गम्भीर विषय भएको जनाएको छ। क्लबले ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सचेत रहन, शंकास्पद गतिविधि’bout जानकारी दिन र यस्ता ठगी धन्दाविरुद्ध खुलेर आवाज उठाउन आग्रह गरेको छ।

“दलालहरू टाढा छैनन्, उनीहरू हाम्रो वरिपरि, हामीले चिनेकै मान्छे पनि हुन सक्छन्,” संस्थाको भनाइ उद्धृत गर्दै ज्ञापनपत्रमा भनिएको छ, “अब मौन बस्ने समय छैन। अन्यायको विरुद्ध बोलौं, पीडितको पक्षमा उभिऔं र दोषीलाई कानुनी दायरामा ल्याउन सामूहिक दबाब सिर्जना गरौं।”

ओमानमा बढ्दो यो समस्याले नेपाली श्रमिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्न नसके अझ धेरै नेपाली ठगीको सिकार भई विदेशमा बिचल्लीमा पर्ने जोखिम बढ्ने देखिएको छ। यस्तो अवस्थामा सचेतना, कानुनी निगरानी र समुदायको एकताबद्ध आवाज नै मानव तस्करीविरुद्धको सबैभन्दा बलियो हतियार बन्न सक्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश