गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ विश्वुखर्क जिल्लाकै विकटमध्येको गाउँ भनेर चिनिन्छ । त्यहाँका नागरिकलाई विशेषज्ञ स्तरको स्वास्थ्य सेवा लिनको लागि तम्घास, बुटबल वा काठमाडौं पुग्नुपर्छ । सोही अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले गाउँमै विशेषज्ञ डाक्टरसहितको सेवा सुरुवात गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको बजेटबाट गत बर्षको असौजदेखि विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क चेकजाँच तथा परामर्श सेवाको सुरुवात गरेको हो । जसले गर्दा विकट गाउँका नागरिक स्वास्थ्य सेवामा निकट भएका छन् ।
विश्वुखर्कमा विशेषज्ञ डाक्टरसहितको मासिक निःशुल्क स्वास्थ्य शिविर
स्थानीय बिर बहादुर क्षेत्रीले वडाको टिमले आफुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर संचालन गरेकोमा धन्यवाद् दिए । ‘आज मैले पनि जाँच गराए, औषधी पनि पाइयो ।’ उनले भने, ‘बुटबल जानुपर्ने सेवा आफ्नै घर आँगनमा पाएका छौं ।’ उनले मासिक रुपमा फरक–फरक डाक्टरहरुद्धारा स्थानीयको स्वास्थ्य जाँच गर्दा आफुहरुले सबै रोगको परीक्षण गराउन पाएको बताए ।
अर्की स्थानीय पुतली विकले शिविरमा जाँच गराउदा आफुले कुनै शुल्क तिर्न नपरेको भन्दै खुसि व्यक्त गरिन् । ‘घुँडा, ढाड र घाँटी दुख्ने समस्याको जाँच गराए ।’ उनले भनिन्, ‘निःशुल्क सेवा र औषधी पाएँ ।’ उनले आफुलाई सेवा प्रदान गर्ने वडा र डाक्टरलाई धन्यवाद् दिइन् ।
वडाको आर्थिक सहयोगमा विश्वुखर्क स्वास्थ्य चौकीमा मासिक रुपमा विशेषज्ञ डाक्टरसहितको शिविर संचालन हुदैँ आएको छ । गत बर्षको असौजदेखि हालसम्म ४७५ जनाले सेवा लिएका छन् । गत असौज महिनामा हाडजोर्नी र महिला तथा स्त्री रोग सम्बन्धि शिविर संचालन गरिएको थियो । कात्तिकमा जनरल फिजिसियन र नेत्र रोग, मंसिरमा स्त्री रोग र छाला तथा यौन रोग, पौषमा नाक, कान तथा घाँटी र चैतमा स्त्री रोगको शिविर संचालन गरिएको थियो ।
हालसम्म ९३ जनाको पाठेघरको मुखको क्यान्सर जाँच भएको विश्वुखर्क स्वास्थ्य चौकीले जनाएको छ । वडाध्यक्ष कमल केसीका अनुसार शिविरको लागि वडाले चालु आर्थिक बर्षमा सात लाख ५० हजार बजेट बिनियोजन गरको छ । ‘निर्वाचनमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने बाचा गरेका थियौं, अहिले पुरा गर्दैछौ ।’ केसीले भने । उनले यो कार्यक्रमले गाउँका धेरै गरिब एवं विपन्न नागरिकहरुलाई बढी फाइदा पुगेकोले आगामी बर्ष पनि निरन्तरता दिने बताए ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन् । बरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषत्र डाक्टर सन्तोष बस्नेतले उनले गाउँमा विशेषगरी सरसफाई, खानपान लगायतका कारणले नागरिकहरुलाई विभिन्न प्रकारका रोग लाग्ने बताए । डाक्टर बस्नेतले सबै गाउँमा मासिक रुपमा शिविर संचालन गर्न सके बजारका ठूला अस्पतालमा समेत बिरामीको भीड कम हुने बताए ।
सम्बन्धित समाचार
अब गुल्मीदरबार अस्पतालमा पनि स्वास्थ्य बीमा
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
विजयनगर गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणा
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो






