एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरुलाई भव्य तथा भावनात्मक कार्यक्रमबीच सम्मान गरेको छ। विद्यालयले उत्कृष्ट नतिजासँगै विद्यार्थीहरुको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरुको समर्पणलाई कदर गर्दै नगद पुरस्कार, प्रशंसा पत्र तथा खादा ओढाएर सम्मान गरेको हो।

विद्यालयले लगातार चौथो ब्याचसम्म पनि शतप्रतिशत नतिजा कायम गर्न सफल भएको अवसरमा विद्यालय परिसर नै खुसी, गर्व र उत्साहले भरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर राईको अध्यक्षतामा तथा पश्चिम फिमरा टोल विकास समितिका अध्यक्ष हेम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले पूर्वाञ्चल पब्लिक स्कुलले केवल परीक्षा उत्तीर्ण गराउने काम मात्रै नभई अनुशासन, संस्कार र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको बताए।

उनले भने,“लगातार चार वर्षसम्म शतप्रतिशत नतिजा ल्याउनु सामान्य कुरा होइन। यसका पछाडि विद्यालय प्रशासनको दूरदृष्टि, शिक्षकहरुको अथक मेहनत, विद्यार्थीहरुको लगनशीलता र अभिभावकहरुको विश्वास लुकेको छ। आज सम्मानित भएका विद्यार्थीहरु भोलिका सक्षम नागरिक हुन्। उनीहरुले समाज र राष्ट्रको नाम उज्यालो पार्ने विश्वास लिएको छु।”

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईले विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै भावुक मन्तव्य दिएका थिए। उनले विद्यार्थीहरुको सफलताले आफूहरुलाई थप जिम्मेवार बनाएको बताए।

प्रिन्सिपल राईले भने,“हामीले केवल अंकका लागि होइन, असल मानिस निर्माणका लागि शिक्षा दिइरहेका छौं। आज विद्यार्थीहरुको अनुहारमा देखिएको खुसी र अभिभावकहरुको आँखामा देखिएको गर्व नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। लगातार चार वर्षसम्म १०० प्रतिशत नतिजा ल्याउन सफल हुनु विद्यालय परिवारका लागि गौरवको विषय हो। आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि हामी निरन्तर लागिरहनेछौं।”

सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो। विद्यार्थीहरुले सम्मान ग्रहण गर्दै विद्यालयप्रति आभार व्यक्त गरेका थिए। कतिपय विद्यार्थी भावुक बन्दै शिक्षकहरुको माया, मार्गदर्शन र प्रेरणाले आफूहरु सफल भएको बताएका थिए।

कार्यक्रममा अभिभावकहरुले पनि विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षण पद्धतिको खुलेर प्रशंसा गरेका थिए। विद्यालयले ग्रामीण क्षेत्रमै रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै उनीहरुले विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा प्रिन्सिपल राईसहित अन्य शिक्षकहरुलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा शुभकामना आदान–प्रदान तथा सामूहिक तस्बिरसहित उत्साहपूर्ण वातावरणमा गरिएको थियो। लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको पूर्वाञ्चल पब्लिक स्कुलले सुन्दरहरैंचा क्षेत्रमै गुणस्तरीय शिक्षाको विश्वासिलो केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको स्थानीयवासीहरुको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान