‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

काठमाडौं । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली चलचित्रको साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ११ सातामा चलचित्र ‘गौंथली’ २५ करोड ९५ लाख रुपैयाँ कमाई गरेको छ । डा.कपिल रिजालले निर्देशन गरेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय छ । यो चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। 

यस्तै, माओत्से गुरूङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को ग्रस कमाइ सात करोड रूपैयाँ नाघेको छ। आइतबारसम्मको विवरणअनुसार ‘पेन्सन पट्टा’ ले सात करोड एक लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र हेर्न दुई लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्। चलचित्र तेस्रो सातामा प्रदर्शनरत छ ।

गरिबी, ऋणको बोझ र आमाछोराको संघर्षलाई यसको कथाको केन्द्रमा राखिएको छ। चलचित्रले पेन्सन पट्टाको खोजीमा निस्किएको राजनको यात्रामार्फत मानवीयता र सोचमा आउने परिवर्तनलाई प्रस्तुत गर्छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।

यस्तै, ‘बेहुली’ चलचित्रको ग्रस कमाइ दुई करोड ९६ लाख नाघेको छ । निर्माण पक्षले विश्वव्यापी चलचित्रको कमाई पाँच करोड भएको दाबी गरेको छ । बोर्डका अनुसार दोस्रो साताको आइतबारसम्म यो चलचित्र हेर्ने दर्शकको संख्या एक लाख पाँच हजार नाघेको छ । चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको मुख्य अभिनय छ ।

निता ढुंगानाको निर्देशन रहेको ‘पार्वती’ चलचित्रको ग्रस कमाइ दुई करोड २८ लाख ५५ हजार रुपैयाँ छ । तेस्रो सातामा हलमा लागिरहेको यो चलचित्र हेर्ने दर्शकको संख्या ८१ हजार नाघेको छ । चलचित्रमा निता ढुंगाना र अशोक दर्जीको मुख्य भूमिका रहेको छ ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित ‘झिंगेदाउ २’ चलचित्रले दोस्रो साताको विकेन्डमा एक करोड ३४ लाख ८३ हजार ग्रस कमाइ गरेको छ । महेश त्रिपाठी, आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र हेर्न ४३ हजार दर्शकले टिकट काटेका छन् ।

नेपालबाट ओस्कर अवार्डका लागि सिफारिसमा परेको ‘इलिफेन्टस अफ द फग’ चलचित्रले एक करोड २५ लाख ग्रस कमाइ गरेको छ । यो चलचित्र पर्साको ठोरीमा रहेका सीमान्तकृत समुदायको कथामा बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपीडितका लागि अमेरिकी सहयोग जुटाउन प्रवासी नेपालीको पहल