पोखरा । पोखराको बजार हुँदै बग्ने फिर्के खोलाको खोलाघर (सीमा) मिचेर बनाइएका संरचनामाथि डोजर लगाउने क्रम जारी छ । पोखरा महानगरपालिकाले आइतबारदेखि थालेको यो अभियानको तेस्रोे दिनसम्म आइपुग्दा ८२ वटा संरचना भत्काइसकिएको छ । फिर्केखोलाको संरक्षण, विकास तथा सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरले खोलाघर खाली गर्ने अभियान चलाएको हो ।
यो अभियानमा सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरु, सुरक्षाकर्मीसमेतको उपस्थितिमा महानगरले विभिन्न ३ स्थानबाट डोजर चलाएको छ ।
खोलाघर खाली गर्ने अभियानको पहिलो दिन २०, दोस्रो दिन ३१ सानाठूला संरचनाहरू हटाइएको थियो । पोखरा वडा १८ र २ को सिमाना क्षेत्रमा ९ वटा संरचनाहरू हटाइएको छ भने वडा र पोखरा वडा ५ क्षेत्रमा २ वटा पक्की र ४ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।
पहिलो दिन बाँकी रहेका पोखरा वडा ८ स्थित राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको छ भने त्यस क्षेत्रमा रहेका ४ पक्की र १२ कच्ची संरचना हटाइएको छ । यसरी तेस्रो दिनसम्म ८२ वटा संरचनाहरू खोला घरबाट हटाइएको महानगरपालिकाले जनाएको छ । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरूसमेतको सहयोगमा ३ जेसिवी र २ एक्स्काभेटर प्रयोग गरिएको छ ।
पोखराका मेयर धनराज आचार्यले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणको लागि यो अभियान थालिएको बताउँछन् । फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्य रूपमा विकास गरिनेछ । उनले बृहत् पोखराको विकासका लागि अतिक्रमित संरचना भत्काउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान सुरुआत भएको बताए । उनले फिर्केखोलाबाट सुरु अभियान पोखरा बसपार्क हुँदै पोखराका सबै क्षेत्रमा पुग्ने दाबी गरे ।
फिर्के खोलालाई पानी बग्ने मात्रै नभई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । पोखरेली नागरिकको दैनिकी, स्वास्थ्य, मनोरञ्जन र पर्यटनसँग जोडिएको सार्वजनिक सम्पत्तिको रूपमा यसलाई स्थापित गरिने मेयर आचार्यले बताउँछन ।
फिर्के खोला मिचिएको विषयलाई लामो समयदेखि दलहरुले राजनीतिक मुद्दा बनाउँदै आएकामा अहिले आएर संरक्षण थालिएकोमा धेरैले यो कार्यको प्रशंसासमेत गरेका छन् । पोखराका मेयर आचार्यले गत सातामात्रै पोखराको अमरसिंह चोकका केही स्थायी तथा अस्थायी संरचनामाथि डोजर चलाएर भत्काइसकेका छन् । चाँडै नै पोखराको बसपार्क खाली गराउन सार्वजनिक सूचना जारी गरेका छन् ।
पोखरा वडा १८, अँधेरीकुना मुहान रहेको फिर्केखोलाले पोखराका ३३ वडाहरुमध्ये ८ वटा वडाहरु छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भइ बग्दै आएको छ । फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बूढापाका बताउँछन् । बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणको पर्दै गएको छ । फिर्के संरक्षणका लागि मेयर आचार्यकै कार्यकालको सुरुआततिर २०८० असारमा प्राविधिक नापजाँच गरिएको थियो । नापजाँचपछि पिल्लर गाडेर खोलाको सिमानाभित्र पर्ने निर्माण भएका अस्थायी–स्थायी सबै १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउन पोखरा महानगरले ३ वर्षअघि पनि प्रयास थालेकोमा तर उच्च अदालत पोखरामा रिट प¥यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगरले सार्वजनिक सूचना जारी गर्दै अघि बढेको हो । फिर्केको मापदण्ड यसअघि १० मिटर कायम गरिएकोमा महानगरले सरोकारवाला र विज्ञसँगको छलफलपछि ६ मिटरमा झारेको छ ।
यसैबीच, फिर्के खोलालाई दक्षिण कोरियाको चेओङगेचेन खोलालाई जोडेर प्रचार गरिएको छ । पोखरा महानगरपालिकाका मेयर आचार्यले चेओङगेचेन खोलाकै परियोजना फिर्केमा लागु गर्ने काल्पनिक योजना अघि सारेका छन् ।
चिओङगेचेन त्यस्तो खोला हो, जुन लामो समय राजमार्ग र ढल निकासका लागि प्रयोग भएकोमा २३ वर्ष पहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । त्यहाँ हाल दैनिक ६४ हजार र वर्षभरी २ करोड ३० लाख पर्यटकले भ्रमण गर्छन् । पछिल्लो २० वर्षमा ३ सय ३० मिलियन अर्थात् ३३ करोडभन्दा बढी मान्छेले भ्रमण गरिसकेको तथ्यांक छ ।
एशियाली विकास बैंकको साझेदारीमा महानगरपालिकाले पोखराको फिर्केलाई त्यस्तै खालको बनाउने लक्ष्य लिएको छ । जसअनुसार करिब ८ किमी लामो फिर्के खोला दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक गन्तब्य निर्माण गरिने लक्ष्य छ । एशियाली विकास बैंकले ६२ करोड रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा सिटौला निर्वाचित
टेनिसका प्रदीप : ५ पल्ट मनोनयन, २ पल्ट अवार्ड
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
सडक किनारका ५१ व्यावसायिक सटरमा डोजर
बिम गाउँमा पक्की पदमार्ग
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै






