डडेल्धुरा । केही वर्षअघिसम्म अमरगढी नगरपालिका–७ का नागरिकहरू सामान्य प्रशासनिक कामका लागि पनि साँघुरा कोठा र अस्थायी संरचनामा पुग्न बाध्य थिए । उता उग्रतारा स्वास्थ्य चौकी पनि महाकाली राजमार्गको मोड नजिक जस्तापाताको छानो भएको सानो भवनबाट सञ्चालन हुँदै आएको थियो । सडकको धूलो, सवारी साधनको चर्काे आवाज र दुर्घटनाको जोखिमबीच स्वास्थ्यकर्मीले सेवा दिनुपथ्र्याे भने सेवाग्राहीले असहज वातावरणमा उपचार लिनुपथ्र्याे ।
तर अहिले अवस्था फेरिएको छ । वडा कार्यालय र स्वास्थ्य चौकी एउटै आधुनिक भवनबाट सञ्चालनमा आएका छन । शुक्रबार उक्त भवनको औपचारिक उद्घाटन भएसँगै अमरगढी–७ मा स्थानीय सरकार र आधारभूत स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु भएको छ ।
भवन मात्र होइन, लामो संघर्षको परिणाम
वडा कार्यालय भवन निर्माणको यात्रा सहज थिएन। सबैभन्दा ठूलो चुनौती थियो जग्गा । वडा अध्यक्ष खडक बोहराका अनुसार वडा वा सार्वजनिक संस्थाको नाममा लालपुर्जा भएको जग्गा नहुँदा वर्षौसम्म भवन निर्माणको योजना कागजमै सीमित थियो । स्थानीय समुदाय, रावलतोली कुटी गुफा समिति र उग्रतारा माध्यमिक विद्यालयबीचको सहकार्यपछि मात्रै वडाको नाममा जग्गा दर्ता गर्न सकियो ।
जग्गा प्राप्त भएपछि मात्रै भवन निर्माणको बाटो खुलेको हो, वडा अध्यक्ष बोहराले भने, यो भवन निर्माणमा सम्पूर्ण वडावासीको योगदान छ ।
स्थानीय तहमा पूर्वाधार निर्माणकालागि जग्गा व्यवस्थापन नै सबैभन्दा जटिल विषय हुने गरेको उदाहरण यो घटनाले पनि देखाएको छ । तर समुदायको सहमतिले असम्भवजस्तै देखिएको काम सम्भव भएको अध्यक्ष बोहराले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि भ्याटसहित १ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
सुरुमा स्वास्थ्य चौकी भवन निर्माणका लागि सीमित बजेट मात्रै उपलब्ध थियो । पछि स्रोत व्यवस्थापन गर्दै संयुक्त भवन निर्माण सम्पन्न गरियो । भवनसँगै पर्खाल, घेरबार र अन्य संरचना निर्माण गर्दा कुल लागत करिब दुई करोड रुपैयाँ पुगेको छ ।
यो लगानीले केवल भवन निर्माण मात्र गरेको छैन, स्थानीय सेवाको गुणस्तरमा पनि दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।
वडाको आफ्नै घर
अमरगढी नगरपालिका २०५३ सालमै स्थापना भएको भए पनि सबै वडाका आफ्नै कार्यालय भवन थिएनन । नगर प्रमुख दिल्लीराज जोशीका अनुसार ११ वटा वडा रहेको नगरपालिकामध्ये अहिले सात वटा वडाका भवन निर्माण भइसकेका छन ।
स्थानीय सरकार सञ्चालन ऐनले वडा कार्यालयलाई नागरिक सेवाको पहिलो केन्द्रका रूपमा परिकल्पना गरेको छ । तर भाडाका घर वा अस्थायी संरचनाबाट सेवा सञ्चालन हुँदा सेवाग्राही र कर्मचारी दुवैलाई समस्या हुने गरेको थियो । वडा नं. ७ को भवन आधुनिक डिजाइन र नयाँ प्रविधिअनुसार निर्माण गरिएको छ । यसले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवामा ठूलो राहत
नयाँ भवनबाट सबैभन्दा बढी लाभ स्वास्थ्य क्षेत्रले पाएको देखिन्छ । उग्रतारा स्वास्थ्य चौकी पहिले राजमार्गको किनारमा रहेको सानो भवनमा सञ्चालन हुन्थ्यो । सडकको मोड नजिक भएकाले दुर्घटनाको जोखिम सधैँ रहन्थ्यो । उपचारका क्रममा सवारी साधनको आवाजले बिरामी र स्वास्थ्यकर्मी दुवैलाई असर पु¥याउने गथ्र्याे ।
स्वास्थ्य चौकी इञ्चार्ज अहेव लाल खत्रीका अनुसार अहिले बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीको आवास र व्यवस्थित उपचार कक्ष सञ्चालनमा आएसँगै सेवा प्रवाह सहज भएको छ ।
नयाँ भवनले बिरामीलाई सुरक्षित र सहज वातावरण दिएको छ, खत्रीले भने, स्वास्थ्यकर्मीलाई पनि काम गर्न धेरै सुविधा भएको छ । विशेषगरी गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाले अब व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन ।
स्थानीय तहको प्रभावकारिता केवल नीति र योजनाले मात्र मापन हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने पूर्वाधारले पनि निर्धारण गर्छ । अमरगढी–७ को संयुक्त भवन त्यही परिवर्तनको प्रतीक बनेको छ । एकातिर नागरिकले वडा कार्यालयबाट सहज प्रशासनिक सेवा पाउनेछन् भने अर्काेतिर स्वास्थ्य चौकीले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
भवन उद्घाटन केवल एउटा औपचारिक कार्यक्रम होइनः यो स्थानीय सरकारलाई नागरिक नजिक ल्याउने प्रयासको एउटा महत्वपूर्ण उपलब्धि हो । अमरगढी–७ का बासिन्दाका लागि यो भवन इँटा र सिमेन्टको संरचना मात्र होइन, वर्षौदेखिको अपेक्षा पूरा भएको अनुभूति भएको स्थानीय गणेश पार्कीले बताए । स्थानीय सरकार र स्वास्थ्य सेवा एउटै छानामुनि आउँदा सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने विश्वास गरिएको छ ।
यसरी जग्गाको अभाव, स्रोत व्यवस्थापन र निर्माणका चुनौती पार गर्दै बनेको यो संयुक्त भवनले अमरगढी–७ मा विकासको नयाँ परिचय स्थापित गरेको छ ।
सम्बन्धित समाचार
लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
अन्धकारमै बझाङ !
प्रेस स्वतन्त्रताको पक्षमा डडेल्धुरामा एउटै स्वर
भागेश्वरमा विद्युतीकरणको काम अलपत्र, अन्धकारमै दुर्गम बस्ती
धनगढीमा १४५ ग्राम लागूऔषधसहित दुई जना पक्राउ
दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो
सशस्त्र प्रहरीका जवानसहित २ जना महाकाली नदीमा डुवेको आशंका






