निर्वाचन पर्यवेक्षण प्रतिवेदन अनावरण

काठमाडौं । निर्वाचन आयोगले आगामी दिनमा मतदान प्रकृयालाई लैंगिक, अपांगता तथा समावेशी दृष्टिकोणले अझ सुदृढ बनाउने आयुक्त डा. जानकी तुलाधरले प्रतिबद्धता जनाएकी छिन् । हाल प्रतिनिधि सभामा छलफलको रुपमा रहेको निर्वाचन विधेयकले कानुनी रुप लिएपछि धेरै कमजोरीहरुमा सुधार हुने उनले बताइन् ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैंगिक, अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण प्रतिवेदन अनावरण कार्यक्रममा डा. तुलाधरले भनिन्, ‘निर्वाचन आयोगले मतदान प्रकृया लैंगिक, अपांगतामैत्री तथा समावेशी दृष्टिकोणले थप प्रभावकारी रुपमा मूलप्रवाहीकरण गर्ने, मतदान केन्द्र, मतदाता शिक्षा सामग्रीलाई क्रमशः सबैको पहुँचको मादण्डअनुसार विकास गरिनेछ ।’

समयअनुसार प्रविधिको प्रयोग बढाउने, निर्वाचनमा खटिने कर्मचारी तथा स्वयमसेवकहरुका लागि लैंगिक, अपांगता तथा समावेशीकरणसम्बन्धी तालिमलाई संस्थागत गर्ने र लैंगिक, अपांगता तथा समावेशी सूचकका आधारमा वर्गीकृत निर्वाचन तथ्यांक संकलन, विश्लेषण तथा प्रकाशनलाई थप सुदृढ बनाउने उनले बताइन् । महिला, युवा, अपांगता भएका व्यक्ति, दुर्गम क्षेत्रका नागरिक तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित विशेष मतदाता शिक्षा कार्यक्रम विस्तार गरिने उनको भनाइ थियो ।

एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रतिवेदनका ’boutमा अधिवक्ता सागर पाठकले प्रस्तुति दिएका थिए । निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार काम नभएको पाइएको र मतदान केन्द्रका ’boutमा विश्लेषण हुन जरुरी रहेको पाठकले प्रस्तुतिमा उल्लेख गरेका थिए । निर्वाचन हरित निर्वाचन, शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको उनले उल्लेख गरे ।

मतदान हुनु अघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जेड–सी (लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण) विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको उनले बताए । पाठककाअनुसार यसमा एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाको सहकार्य थियो । सात प्रदेशका २३ जिल्लाका ५५ स्थानीय तहको ४६ निर्वाचन क्षेत्रमा रहेको १ सय ५६ मतदान केन्द्रको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले बताए ।

कार्यक्रमका सभापति मीरा ढुंगाना, प्रमुख अतिथि डा. तुलाधर, एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ र अर्पणा श्रेष्ठले संयुक्त रुपमा प्रतिवेदन अनावरण गरेका थिए । निर्देशक श्रेष्ठले मतदान केन्द्र पर्याप्त सूचनाबाट बन्चित रहेकाले आउँदा दिनमा त्यसलाई निर्वाचन आयोगले सुधार गर्ने विश्वास व्यक्त गरे ।

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदानस्थल अपांगतामैत्री नभएको र मतदानपछि फर्किने बाटोमा वृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ थियो । अबका दिनमा निर्वाचन आयोगले यस्ता कुरामा ध्यान पुर्‍याउने उनको विश्वास थियो ।

अधिवक्ता राेजिना श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा निर्वाचन पर्यवेक्षणमा सहकार्य गरेका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले पर्यवेक्षणका बेला भोग्नुपरेको समस्या तथा समाधानका सुझावहरु राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री