भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

बाँके । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ ।

हाल उनको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बनेका छन् । भैँसीको हेरचाहदेखि दूध सङ्कलन र व्यवस्थापनसम्ममा उनका छोराछोरी, बुहारी र नातिनातिनासमेत सक्रिय छन् ।

तीन पुस्ताको यो सामूहिक प्रयासले उनको भैँसीपालन कर्मलाई नमूना बनाएको छ । भैँसीपालन गर्ने पुख्र्यौली पेसामा भविष्य देखेर आफूले अलि व्यवस्थित र विस्तार गरेको रामसुहावनले बताए ।

उनको गोठबाट दैनिक करिब चार सय लिटर दूध उत्पादन हुन्छ । दूध कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्ज बजारसम्म पुग्छ, जसले सहरको ठूलो हिस्साको दूधको माग धान्दै आएको छ । हुन त बाँकेको डुडुवा गाउँपालिकाका हल्कारापूर्वा, कम्दी, सिधनिया र ग्वालापुर गाउँहरू भैँसीपालनका लागि निकै प्रसिद्ध छन् । हल्कारापूर्वा गाउँमा मात्रै छ सयभन्दा बढी भैँसी पालिएका छन् । यस गाउँबाट दैनिक करिब छ सय लिटर दूध नेपालगन्ज बजारमा आपूर्ति हुन्छ ।

रामसुहावनले राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्राप्त गरेपछि अहिले हल्करापुर गाउँ नै चर्चामा छ । दुई लाख नगदसहितको यो सम्मान बोकेर रामसुहावन गाउँ पुगेपछि उनको गोठमात्र नभई, सिङ्गो हल्कारापूर्वा गाउँमै खुसीयाली छाएको छ ।

“मेरो पुर्खौँदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु”, यादवले भने । रामसुहावनले प्राप्त पुरस्कार दुई लाखसमेत भैँसीपालनकै विस्तारमा लगाएका छन् ।

पुरस्कार र सम्मानले रामसुहावनलाई उत्साह त दिएको छ, तर नेपालको दुग्ध क्षेत्रको तीतो यथार्थबाट उनी पनि अछुतो छैनन्। उनीजस्ता थुप्रै किसानले अहिले मिल्क होलिडे र भुक्तानीको ठूलो समस्या झेल्नुपरेको छ ।

उनले दुग्ध विकास संस्थान (डिडीसी)बाट दूध बिक्रीबापतको करिब ३० लाख भुक्तानी पाउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

निश्चित ब्याचबाहेक करेन्ट चाउचाउ खान योग्य रहेको यशोधा फुड्सको दाबी