सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ मा रहेको आश्रय सुधार तथा उपचार केन्द्र ले कोशी प्रदेशमै फरक र सुविधा सम्पन्न आश्रय सुधार तथा उपचार केन्द्रको संरचना निर्माण गरेको छ। आधुनिक पूर्वाधार, व्यवस्थित उपचार सेवा, परामर्श कक्ष, आवासीय सुविधा तथा पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकतामा राखेर निर्माण गरिएको केन्द्रले लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई नयाँ जीवन दिने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ।
केन्द्रका कार्यक्रम संयोजक सेवक खत्री का अनुसार, प्रदेशमै फरक अवधारणासहितको सुविधा सम्पन्न सुधार तथा उपचार केन्द्र निर्माण गरिएको हो। उनले भने, “हामीले कोशी प्रदेशमै फरक र सुविधा सम्पन्न आश्रय सुधार तथा उपचार केन्द्रको संरचना निर्माण गरेका छौँ। यसले उपचारका लागि आउने व्यक्तिहरूलाई सुरक्षित, व्यवस्थित र सकारात्मक वातावरण उपलब्ध गराउनेछ। हाम्रो उद्देश्य केवल कुलत छुटाउनु मात्र होइन, उनीहरूलाई समाजमा सम्मानपूर्वक पुनःस्थापित गर्नु पनि हो।”
आश्रय सुधार तथा उपचार केन्द्रले विगतदेखि नै लागूऔषध दुर्व्यसनमा फसेका युवाहरूलाई उपचार, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनामार्फत नयाँ जीवन प्रदान गर्दै आएको छ। समाजमा लागूऔषध तथा मादक पदार्थको सेवनका कारण नकारात्मक गतिविधितर्फ आकर्षित भइरहेका युवालाई सही बाटोमा फर्काउने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रले रोकथामदेखि पुनर्स्थापनासम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रम संयोजक खत्रीले लागूऔषध दुर्व्यसन रोकथाम नै पहिलो प्राथमिकता भए पनि यदि कोही त्यसको दलदलमा फसिहाले उनीहरूलाई समाजमा पुनःस्थापना गर्नु त्यत्तिकै महत्वपूर्ण रहेको बताए। उनका अनुसार, दुर्व्यसनमा फसेका व्यक्तिलाई अपराधीको रूपमा होइन, बिरामीको रूपमा हेर्नुपर्ने आवश्यकता छ।
उनले भने, “लागूऔषध प्रयोगकर्तालाई दोषी होइन, बिरामीका रूपमा व्यवहार गर्नुपर्छ। उनीहरूलाई मनोसामाजिक परामर्श, माया, हौसला र परिवारको प्रत्यक्ष निगरानीमा उपचार गरियो भने धेरैलाई सामान्य जीवनमा फर्काउन सकिन्छ।”
उनले विशेषगरी १५ देखि १६ वर्ष उमेर समूहका किशोर–किशोरी लागूऔषधको जोखिममा बढी पर्ने भएकाले विद्यालय, अभिभावक तथा समुदायस्तरबाट समयमै सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले यस उमेर समूहलाई सही मार्गदर्शन गर्न सके भविष्यमा दुर्व्यसनको समस्या उल्लेखनीय रूपमा घटाउन सकिने धारणा व्यक्त गरे।
खत्रीका अनुसार, उचित परामर्श, निरन्तर निगरानी र आत्मविश्वास बढाउने वातावरण पाए लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई पुनः समाजमा स्थापित गर्न सकिन्छ। उनले केन्द्रबाट उपचारपछि धेरै व्यक्ति सफलतापूर्वक समाजमा फर्किएको र उनीहरूले अहिले सम्मानजनक जीवनयापन गर्दै आफ्नै नयाँ पहिचान बनाउन सफल भएको बताए।
उनले भने, “हामीले उपचारपछि धेरै जनालाई सफलतापूर्वक समाजमा पुनःस्थापना गरेका छौँ। अहिले उहाँहरू विभिन्न पेशा, व्यवसाय र रोजगारीमा आबद्ध भएर परिवार र समाजमा सकारात्मक भूमिका निर्वाह गरिरहनुभएको छ। यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”
आश्रय सुधार तथा उपचार केन्द्रले लागूऔषध दुर्व्यसनमा फसेकाहरूको उपचारमा मात्र आफूलाई सीमित नराखी सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। केन्द्रले गरिब, विपन्न, असहाय तथा आवश्यकतामा परेका नागरिकलाई विभिन्न किसिमका सहयोग गर्दै आएको छ। सामाजिक सेवामूलक अभियान, जनचेतनामूलक कार्यक्रम, सहयोग वितरण तथा समुदायसँगको सहकार्यमा समेत संस्था सक्रिय रहेको बताइएको छ।
बढ्दो लागूऔषध दुर्व्यसनको चुनौतीका बीच आधुनिक सुविधा सम्पन्न उपचार तथा पुनर्स्थापना केन्द्रको स्थापना हुनु कोशी प्रदेशका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उपचार, परामर्श, पुनर्स्थापना र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै आएको आश्रय सुधार तथा उपचार केन्द्रले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्दै समाजलाई दुर्व्यसनमुक्त बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित समाचार
कर्तव्यनिष्ट असी बुहारी सम्मानित
ग्रामथानमा ‘पैसा नदिई जग्गा खाइदिए’ भन्दै धरधरी रोइन भागबती
युवाको जागरण, सुरक्षित यात्राको अभियान : गछिया युवा समाजको प्रशंसनीय पहल
मिक्लाजुङदेखि सर्लाहीसम्म महिलाको आशा बनेकी पार्वती गच्छदार
झापा गाउँपालिकाः बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित
जनस्तरवाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल, १५१ सदस्यीय समिति गठन
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’






