‘सुन्दरहरैंचाका महिलालाई सीप, सम्मान र नयाँ अवसर’

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ को आर्थिक सहयोग तथा सिद्धार्थ स्किल डेभलोपमेन्ट प्रा.लि. को आयोजनामा सञ्चालन गरिएको नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ।

स्थानीय महिलालाई सीपयुक्त, आत्मनिर्भर तथा नेपाली मौलिक संस्कृति संरक्षणतर्फ अभिप्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसहित सम्मानस्वरूप सारी वितरण गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठले नौमती बाजा नेपाली संस्कृति र पहिचानको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता रहेको बताए।

उनले महिलाहरूले तालिममार्फत हासिल गरेको सीपले सांस्कृतिक कार्यक्रमका साथै व्यावसायिक क्षेत्रमा समेत अवसर सिर्जना गर्न सक्ने उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा वडा सदस्य रुकमणि घिमिरे ले महिलाको आर्थिक सशक्तीकरण र सामाजिक सहभागिता वृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने बताइन्। सीपले आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको आधार तयार गर्ने भएकाले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

वडा सदस्य राजनारायण खवास ले स्थानीय कला र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।

त्यस्तै वडा सदस्य शारदा विक ले महिलाको क्षमता विकास र आयआर्जनमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै सिकेको ज्ञानलाई समुदायस्तरमा समेत विस्तार गर्नुपर्ने धारणा राखिन्।

आयोजक संस्था सिद्धार्थ स्किल डेभलोपमेन्ट प्रालिकी प्रबन्ध निर्देशक पार्वती गच्छदार ले स्थानीय सरकारसँगको सहकार्यमा समुदायको आवश्यकता अनुसार सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन्। उनका अनुसार तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै नेपाली मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याएको छ।

तालिममा सहभागी महिलाहरूले नौमती बाजा बजाउने व्यावहारिक ज्ञान र सीप हासिल गरेको जनाउँदै आगामी दिनमा सांस्कृतिक कार्यक्रम तथा व्यावसायिक रूपमा समेत यसको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजकका अनुसार स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुने यस्ता सीपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धि, स्वरोजगार प्रवर्द्धन तथा नेपाली मौलिक कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलाहरूलाई प्रमाणपत्रका साथै सम्मानस्वरूप सारी वितरण गरिएको थियो। आयोजकले यसले सहभागीहरूको मनोबल बढाउनुका साथै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास