काठमाडौं । प्रतियोगिता सुरु हुन केही महिना बाँकी रहँदा विश्वभरका फुटबलप्रेमीको चासो ‘कुन टोली उपाधिको दाबेदार हो, कुन स्टार खेलाडी उत्कृष्ट लयमा छन् वा कुन प्रशिक्षकले कस्तो रणनीति अपनाउने छन् ?’ भन्नेमै सीमित हुँदैनन् । विश्वकपको अर्को ठूलो आकर्षण हुन्छ– आधिकारिक फुटबल । प्रतियोगिताको लोगो र ट्रफीजत्तिकै महइभ्व दिइने बल हरेक विश्वकपमा नयाँ स्वरूपमा सार्वजनिक गरिन्छ । नाम, डिजाइन, प्रविधि र नयाँ पहिचानसाथ आउने बल विश्वकपको छुट्टै प्रतीक बन्ने गर्छ ।
सामान्य दर्शकका लागि फुटबल खेल सञ्चालन गर्ने एउटा साधारण गोलो वस्तुमात्र हुन सक्छ । तर, विश्वकपमा प्रयोग हुने बल तयार पार्न वर्षौंको अनुसन्धान, सयौं इन्जिनियरको मेहनत, हजारौं घण्टाको परीक्षण र खेलाडीको सुझाव जोडिएका हुन्छन् । यही कारण विश्वकपमा प्रयोग हुने प्रत्येक बल एउटा खेल सामग्रीमात्र होइन, फुटबल प्रविधि विकास, आयोजक राष्ट्रको सांस्कृतिक पहिचान र खेलको भविष्यको प्रतिनिधित्व गर्ने माध्यमसमेत हो ।
पहिलो विश्वकपको बल
सन् १९३० मा उरुग्वेमा पहिलो विश्वकप आयोजना हुँदा अहिलेजस्तो एउटै आधिकारिक बलको अवधारणा थिएन । सहभागी टोलीले आ–आफ्नै बल लिएर आएका थिए । त्यसबेला बलको आकार, तौल, बनावट र गुणस्तरमा समेत एकरूपता थिएन । त्यसको सबैभन्दा चर्चित उदाहरण पहिलो विश्वकप फाइनल हो । अर्जेन्टिना र आयोजक उरुग्वेबीच भएको उपाधि भिडन्तअघि ‘कुन टोलीको बल प्रयोग गर्ने ?’ भन्ने विषयमा लामो विवाद भएको थियो । सम्झौताका रूपमा पहिलो हाफ अर्जेन्टिनाको बल र दोस्रो हाफ उरुग्वेको बल प्रयोग गरियो । फुटबल इतिहासमा यो घटना आज पनि अनौठो उदाहरणका रूपमा स्मरण गरिन्छ ।
त्यसपछि ‘विश्वकै सबैभन्दा ठूलो प्रतियोगितामा सबै टोलीले समान मापदण्डको बल प्रयोग गर्नुपर्छ’ महइभ्वपूर्ण सन्देश दियो । विस्तारै फिफाले आधिकारिक बलको अवधारणा व्यवस्थित बनायो । समयसँगै बल निर्माण गर्ने कम्पनी, परीक्षण प्रक्रिया, गुणस्तर मापदण्ड र डिजाइन चयन वैज्ञानिक आधारमा हुन थाले ।
विश्वकपमा ‘हरेक संस्करणमा नयाँ बल ल्याइन्छ’ भन्ने धेरैलाई सामान्य ‘मार्केटिङ रणनीति’जस्तो लाग्न सक्छ । वास्तवमा त्यसको कारण त्योभन्दा धेरै गहिरो छ । फुटबल विज्ञान निरन्तर परिवर्तन भइरहेको खेल हो । खेलाडीको गति बढेको छ, पास शैली बदलिएको छ, मैदानको घाँसको गुणस्तर सुधारिएको छ, रेफ्री प्रविधिमैत्री बनेका छन् र प्रसारण प्रविधि पनि अत्याधुनिक भइसकेको छ । यी सबै परिवर्तनसँग मेल खानेगरी बल पनि परिमार्जन गरिनुपर्छ । त्यसैले हरेक चार वर्षमा नयाँ बल विकास गरिन्छ ।
यसरी तयार हुन्छ– आधिकारिक बल
विश्वकपको आधिकारिक बल तयार गर्दा सबैभन्दा पहिले अध्ययन गरिने विषय हो, ‘हावामा बल कसरी चल्छ ?’ खेलाडीले प्रहार गरेको बल ‘सीधा जाने कि घुमेर जाने ?, कति छिटो गति लिने, कति उचाइसम्म पुग्ने, पानी पर्दा कस्तो व्यवहार गर्ने, अत्यधिक गर्मी वा चिसोमा कति स्थिर रहने ?’ भन्ने सबै पक्ष प्रयोगशालामा परीक्षण गरिन्छन् । एउटा बल सार्वजनिक हुनुअघि हजारौंपटक लात हानिन्छन्, रोबोटबाट प्रहार गरिन्छन्, विभिन्न उचाइबाट खसालिन्छ र विभिन्न तापक्रममा राखेर परीक्षण गरिन्छन् ।
सुरुवाती बल प्राकृतिक छालाबाट बनाइन्थे
विश्वकपका सुरुवाती बल प्राकृतिक छालाबाट बनाइन्थे । ती बल सुरुमा निकै राम्रो देखिए पनि पानी परेपछि धेरै भारी हुन्थे । पानी सोसेपछि बलको तौल बढ्थ्यो, जसले पास, सट र हेडिङमा प्रत्यक्ष प्रभाव पाथ्र्यो । खेलाडी हेड गर्दा चोट लाग्ने गुनासो गर्थे । त्यसैले वैज्ञानिकले पानी नसोस्ने सामग्री खोजी सुरु गरे । यही खोजले पछि ‘सिन्थेटिक’ सामग्रीको प्रयोगलाई जन्म दियो ।
सम्झनायोग्य कालोसेतो प्यानल
सन् १९७० को विश्वकप फुटबल इतिहासमा महत्वपूर्ण मोड आयो । मेक्सिको विश्वकपका लागि सार्वजनिक गरिएको ‘टेलस्टार’ले पहिलोपटक कालो र सेतो प्यानल भएको डिजाइन प्रयोग ग¥यो । त्यसबेला विश्वभरका अधिकांश मानिस ‘ब्ल्याक एन्ड ह्वाइट’ टेलिभिजनबाट खेल हेर्थे । पूर्ण सेतो बल टेलिभिजनमा स्पष्ट नदेखिने भएकाले कालो आकृतिसहितको डिजाइन तयार गरिएको थियो । यो डिजाइन यति लोकप्रिय बन्यो कि आज पनि धेरै मानिस ‘फुटबल’ भन्नासाथ कालो–सेतो बलको चित्र सम्झन्छन् । त्यसपछि सन् १९७८ मा आएको ‘ट्यांगो’ ले अर्को युग सुरु ग¥यो । यसको डिजाइनले विश्व फुटबलमा यस्तो प्रभाव पा¥यो कि त्यसको शैली धेरै विश्वकपसम्म दोहोरियो । त्यसपछि ‘एजटेका’, ‘क्वेस्ट्रा’, ‘ट्राइकोलोर’, ‘फिभरनोभा’, ‘टीमगाइस्ट’, ‘जाबुलानी’, ‘ब्राजुका’, ‘टेलस्टार १८’, ‘अल रिहृला’ हुँदै अहिले सन् २०२६ को नयाँ बलसम्म आइपुग्दा विश्वकपका बलले प्रविधिको अद्भुत यात्रा तय गरेका छन् ।
‘जाबुलानी’को चर्चा
सबैभन्दा धेरै चर्चा भएको बल भने सन् २०१० दक्षिण अफ्रिका विश्वकपमा प्रयोग गरिएको ‘जाबुलानी’ हो । यसलाई अत्याधुनिक भनिए पनि धेरै गोलकिपर र केही स्टार खेलाडीले यसको उडान अस्थिर भएको गुनासो गरेका थिए । लामो दूरीबाट प्रहार गर्दा बलले अनपेक्षितरूपमा दिशा बदल्ने, गति फरक हुने र नियन्त्रण गर्न गाह्रो हुने प्रतिक्रिया आएका थिए । स्पेनका इकर कासियासदेखि इटालीका जियानलुइजी बुफोनसम्मका चर्चित गोलकिपरले यसको आलोचना गरेका थिए । तर, यही आलोचनाले निर्मातालाई अर्को संस्करण अझ परिष्कृत बनाउन प्रेरित ग¥यो ।
विश्वकै धेरै परीक्षण गरिएको बल
सन् २०१४ मा सार्वजनिक ‘ब्राजुका’ विश्वकप इतिहासकै सबैभन्दा धेरै परीक्षण गरिएको बलमध्ये मानिन्छ । विश्वका विभिन्न देशका सयौं व्यावसायिक र गैरव्यावसायिक खेलाडीले महिनौंसम्म यसको परीक्षण गरेका थिए । त्यसपछि ‘कतार विश्वकप’का लागि आएको ‘अल रिहृला’ले गति, स्थिरता र स्मार्ट प्रविधिमा नयाँ मापदण्ड स्थापित ग¥यो । यसमा जडान गरिएको ‘सेन्सर’ प्रणालीले रेफ्रीलाई ‘अफसाइड’ निर्णयमा समेत सहयोग पु¥याउने प्रविधि प्रयोग सम्भव बनायो ।
आज विश्वकपको बल छाला वा रबरको संरचनामात्र होइन । यसभित्र वायुगतिकी, सामग्री विज्ञान, कम्प्युटर डिजाइन, कृत्रिम बुद्धिमत्ता र खेल विज्ञानको संयोजन हुन्छ । एउटा बलले मैदानमा ‘कस्तो व्यवहार गर्छ ?’ भन्ने ‘कम्प्युटर सिमुलेसन’मार्फत पहिल्यै अध्ययन गरिन्छ । त्यसपछि मात्रै अन्तिम उत्पादन तयार हुन्छ । यही निरन्तरतामा सन् २०२६ विश्वकपका लागि नयाँ आधिकारिक बल सार्वजनिक गरियो । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गरिएको प्रतियोगिता ध्यानमा राखेर यसको डिजाइन तयार गरियो । तीनै आयोजक राष्ट्रको सांस्कृतिक विविधता, आधुनिकता र ऊर्जा झल्काउनेगरी रङ र आकृति संयोजन गरियो । यसको बाहिरी सतह अझ सन्तुलित बनाइयो । जसले हावामा बलको स्थिरता बढाउने विश्वास गरिएको छ । उच्च गतिमा प्रहार हुँदा पनि बलले पूर्वानुमान गर्न सकिने उडान कायम राख्नेगरी यसको संरचना विकास गरिएको छ ।
विश्वकपको आधिकारिक बल हरेक चार वर्षमा बदलिनुको कारण नयाँ देखिनुस“गै यसको उद्देश्य खेल अझ निष्पक्ष, रोमाञ्चक र आधुनिक बनाउनु हो । एउटा नयाँ बलले खेलाडीको प्रदर्शन, गोलकिपरको प्रतिक्रिया, रेफ्रीको निर्णय र दर्शकको अनुभवसम्म परिवर्तन गर्न सक्छ । त्यसैले विश्वकप सुरु हुनुअघि सार्वजनिक हुने नयाँ बल विश्व फुटबलमा सधैं चर्चाको विषय बन्ने गरेको हो ।
राष्ट्रियता जोडिएको आधिकारिक बल
विश्वकपको आधिकारिक बल तयार गर्नु कुनै सामान्य उत्पादन प्रक्रिया होइन । एउटा नयाँ बल बजारमा आउनुअघि त्यसले लामो अनुसन्धान, परीक्षण र सुधारको यात्रा पार गर्नुपर्छ । डिजाइनर टोलीले सुरुमै विश्वकप आयोजना गर्ने राष्ट्र वा राष्ट्रको इतिहास, संस्कृति, कला, परम्परा र प्राकृतिक विशेषता’bout अध्ययन गर्छ । त्यसपछि ती सबै पक्ष रङ, आकृति र बनावटमार्फत बलमा उतार्ने प्रयास गरिन्छ । हरेक विश्वकपको बल हेर्दा त्यसले एउटा कथा बोकेको महसुस हुन्छ । कुनै बलले स्थानीय कला प्रतिनिधित्व गर्छ भने कुनैले राष्ट्रिय झण्डाका रङ समेट्छ । कतिपय बलको नाम पनि आयोजक देशको भाषाबाट राखिएका हुन्छन् ।

विश्वकपका बल नामाकरण आफैंमा निकै रोचक प्रक्रिया हो । सन् १९७० को ‘टेलस्टार’ टेलिभिजन युग सुरुवातलाई संकेत गर्ने नाम थियो । सन् १९७८ को ‘ट्यांगो’ ले अर्जेन्टिनाको प्रसिद्ध नृत्यबाट प्रेरणा लिएको थियो । सन् १९८६ को ‘एजटेका’ मेक्सिकोको प्राचीन एजटेक सभ्यताको सम्मानमा राखिएको नाम हो ।
फ्रान्स विश्वकपको ‘ट्राइकोलोर’ फ्रान्सेली राष्ट्रिय झण्डाका तीन रङबाट प्रेरित थियो भने सन् २००२ को ‘फिभरनोभा’ले पुरानो परम्परागत डिजाइन तोड्दै भविष्यको फुटबललाई अंकित गर्ने प्रयास गरेको थियो । सन् २०२२ को कतार विश्वकपमा प्रयोग गरिएको ‘अल रिहृला’ अरबी भाषाको शब्द हो, जसको अर्थ ‘यात्रा’ हुन्छ । यसले विश्वकपलाई विश्वभरका समर्थकको साझा यात्राका रूपमा चित्रण गर्ने उद्देश्य राखेको थियो ।
प्रत्येक नयाँ बल निर्माण गर्दा वैज्ञानिकले सबैभन्दा धेरै ध्यान दिने विषय भनेको हावाको प्रवाह हो । बलको बाहिरी सतहमा ‘कति वटा प्यानल राख्ने ? तिनको आकार कस्तो बनाउने ? जोडाइ कहाँ गर्ने र सतहमा कति बनावट राख्ने ?’भन्ने पक्षले बलको उडानमा प्रत्यक्ष प्रभाव पार्छ । यही कारण विगतका विश्वकपमा ३२ प्यानल भएका बलदेखि आठ वा ६ वटा प्यानल भएका आधुनिक बलसम्म प्रयोगमा आएका छन् । प्यानल संख्या घट्दै जाँदा जोडाइ पनि कम हुन्छ, जसले बललाई अझ गोलाकार र स्थिर बनाउँछ ।
विश्वकपको आधिकारिक बल तयार भएपछि त्यसलाई सीधै प्रतियोगितामा प्रयोग गरिँदैन । विश्वका विभिन्न महादेशका व्यावसायिक खेलाडी, प्रशिक्षक, गोलकिपर र प्राविधिक टोलीले महिनौँसम्म परीक्षण गर्छन् । विभिन्न उचाइ भएका सहर, समुद्री सतह, अत्यधिक गर्मी, चिसो र वर्षाको अवस्थासमेत सिर्जना गरेर बल अध्ययन गरिन्छ । कुनै कमजोरी भेटिए त्यसलाई फेरि परिमार्जन गरिन्छ । त्यसपछि मात्र अन्तिम संस्करणलाई फिफाले स्वीकृति दिन्छ ।
फुटबलमा सानो परिवर्तनले पनि खेलको नतिजामा ठूलो प्रभाव पार्न सक्छ । कुनै बलको सतह अलिकति चिल्लो भयो भने गोलकिपरलाई बल समात्न कठिन हुन सक्छ । बल अलि हलुका भयो भने लामो दूरीको प्रहार अझ तीव्र हुन सक्छ । यदि सतहमा धेरै घर्षण भयो भने ‘स्पिन’ बढी लाग्न सक्छ । त्यसैले नयाँ बल सार्वजनिक भएपछि खेलाडीले त्यससँग अभ्यस्त हुन विशेष अभ्यास गर्छन् । धेरै राष्ट्रिय टोलीले विश्वकपअघि केही सातासम्म आधिकारिक बल प्रयोग गरेरमात्रै प्रशिक्षण सञ्चालन गर्ने गर्छन् ।
संकलकका लागि अमूल्य वस्तु
विश्वकपको बल खेलाडीमात्र होइन, संकलकका लागि पनि अमूल्य वस्तु हुन्छ । प्रत्येक विश्वकपपछि लाखौं समर्थक आधिकारिक बल खरिद गर्छन् । केही सीमित संस्करणका बल वर्षौंपछि निकै महँगा मूल्यमा बिक्री हुने गरेका छन् । कतिपय संग्रहालयमा त विश्वकपका सबै आधिकारिक बल सुरक्षित राखिएका छन्, जसले फुटबलको विकासलाई दृश्यमा देखाउँछन् ।
खेलाडीका नजरमा बल
विश्वकपको बल जति आधुनिक बन्दै गएको छ, त्यति नै बहस पनि बढेको छ । केही खेलाडी नयाँ प्रविधिले खेल अझ रोमाञ्चक बनाएको बताउँछन् भने केही परम्परागत अनुभव हराउँदै गएको टिप्पणी गर्छन् । गोलकिपरले नयाँ बलको उडान र गति फरक हुने भएकाले सुरुवाती खेलमा चुनौती हुने बताउने गरेका छन् । यद्यपि, केही खेलपछि उनीहरू पनि त्यसमा अभ्यस्त हुने गर्छन् ।
आजको विश्व फुटबलमा एउटा बल खेल सञ्चालन गर्ने साधनमात्रै होइन । त्यो विज्ञान, प्रविधि, डिजाइन, संस्कृति, व्यवसाय र भावनाको संगम हो । एउटा विश्वकप समाप्त भएपछि समर्थकले जित्ने टोलीमात्र सम्झँदैनन्, त्यस प्रतियोगितामा प्रयोग भएको बल पनि सम्झन्छन् । धेरैका लागि ‘टेलस्टार’ एउटा सम्झना, ‘जाबुलानी’ बहस, ‘ब्राजुका’ सफल प्रयोग र ‘अल रिहृला’ आधुनिक फुटबलको प्रतीक हुन् ।
समयसँगै फुटबल अझ तीव्र, अझ वैज्ञानिक र अझ प्रविधिमैत्री बन्दै गएको छ । त्यसैले भविष्यका विश्वकपमा प्रयोग हुने बल अझ स्मार्ट, अझ सटीक र सम्भवतः खेलका विभिन्न पक्ष वास्तविक समयमै विश्लेषण गर्न सक्ने स्तरसम्म पुग्न सक्छ ।
यद्यपि, एउटा कुरा भने परिवर्तन हुने छैन । त्यो हो– विश्वकप सुरु हुनुअघि सार्वजनिक हुने नयाँ आधिकारिक बलले संसारभरका करोडौं समर्थकको उत्सुकता सधैंझैं बढाइरहने छ । फुटबलको भाषा संसारभर एउटै छ र त्यस भाषाको सबैभन्दा महइभ्वपूर्ण प्रतीक गोलो बल नै रहनेमा दुई मत छैन ।
सम्बन्धित समाचार
क्वाटरफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिल कि इग्ल्यान्डसँग ?
जे–जे भए, ‘इन्जुरी टाइम’ मै भए
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा (खेल तालिकासहित)
फुटबल संस्कृतिमा बाँचेको ‘केप भर्डे’
ह्रयारी केन, भविष्यवाणी र उचाइमा खेल्नुपर्ने चुनौती
पोर्चुगल-स्पेन विश्वकपमा तेस्रो पटक भिड्दै
गोल गर्न किन कहिल्यै चुक्दैनन् हालान्ड ?
मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ?






