कर्णालीमा मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर छलफलका क्रममा मुख्यमन्त्री कँडेलले पदबाट अलग हुने घोषणा गरेका हुन् ।

प्रदेशसभामा सम्बोधन गर्दै कँडेलले आफू सत्ता जोगाएर बस्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरणका लागि पहल गर्न यसअघि नै आग्रह गरेको पनि बताए । ‘मैले कांग्रेस दलका नेतालाई पहल गर्नुस् भनेकै हो, गठबन्धन हामीले यहाँ बनाएको होइन, माथिबाट बनेकाले माथि नै पार्टीमा छलफल गर्नुस् भनेको थिएँ,’ उनले भने, ‘तपाईंले पहल गर्नुभयो भने म तयार छु भनेकै हो ।’ कँडेलले आफूले सत्ता हस्तान्तरणका विषयमा सकारात्मक धारणा राख्दा पनि कांग्रेस नेतृत्वबाट आवश्यक पहल नभएको दाबी गरे । साथै, सार्वजनिक रूपमा आफूविरुद्ध गरिएका टिप्पणीप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे ।

यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए । मन्त्रीहरूको राजीनामाको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यामलाल कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । पछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भई कांग्रेस–एमाले गठबन्धन बनेसँगै २०८१ साल साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको थियो । मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

एमाले र नेकपाबीच शनिबार काठमाडौंमा भएको समझदारी अनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ । दुई दलबीचको समझदारीअनुसार एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह