लप्सेखोलामा अस्थायी बेलिब्रिज जडानका लागि ठेक्का आह्वान

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु) खोला ।

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु) खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आह्वान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडालाई जोड्ने लप्सेखोलामा बेलिब्रिज जडानका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले भ्याट र कन्टिन्जेन्सी बाहेक एक करोड ६३ लाख ६४ हजार ९३४ रकमको ठेक्का खुलाएको हो ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठका अनुसार, लप्सेखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको अवस्थामा अस्थायी बेलिब्रिजमार्फत यातायात सञ्चालन गर्ने तयारी गरिएको हो । लप्सेखोलामा वि.सं. २०७२ असोज–७ गते ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिसँग १५ मिटर लम्बाइको मोटरेबल पक्की पुल वि.सं. २०७३ असोज–७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएता पनि ठेकेदार कम्पनीले खोलाका दुई किनारामा पिलर ठड्याउने काम बाहेक कुनै प्रगति गरेन ।

तेस्रोपटक थपिएको म्याद वि.सं. २०७७ असोज–३० गते नाघेपछि पनि काम अघि नबढेपछि पुष्पलाल राजमार्ग योजनाले वि.सं. २०७९ मङ्सिर–१८ गते सडक विभागसमक्ष ठेक्का तोड्न सिफारिस गरेको थियो, र सोही वर्ष ठेक्का तोडिएको हो । ठेक्का तोडिएको तीन वर्ष बित्दा पनि सरकारले हालसम्म नयाँ ठेक्का खुलाएको थिएन । ठड्याइएका पिलर हाल झाडीले ढाकिएका छन् भने रडमा खिया लागिसकेको छ ।

पुल नहुँदा वर्षायाममा पैदलयात्री, मालवाहक तथा यात्रुवाहक गाडी, एम्बुलेन्स र मोटरसाइकल घण्टौं रोकिने गरेको स्थानीयवासीले बताएका छन् । बाढी–पहिरोका बेला सडक लामो समयसम्म अवरुद्ध हुने गरेको छ । गत जेठ–२७ गते राति सडकमाथिबाट लेदोसहितको बाढी झरेपछि हप्तादिनसम्म यातायात सेवा पूर्ण अवरुद्ध भएको थियो । हाल बाढीले अवरुद्ध भएको स्थानमा ह्युमपाइप राखेर अस्थायी रूपमा सवारी आवतजावत गराइएको छ ।

यसैबीच, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) खण्डको कालोपत्रका लागि पनि नयाँ ठेक्का आह्वान गरिएको छ । यस खण्डको ठेक्का वि.सं. २०७२ चैत–२ गते भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौंसँग वि.सं. २०७५ फागुन–३० गतेसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराए पनि काम सम्पन्न नगरेपछि वि.सं. २०८० जेठ–१४ गते ठेक्का तोडिएको थियो । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ बाहेक सबै भाग हाल कालोपत्र भइसकेको छ । ठेकेदारको लापरबाहीका कारण कालोपत्र हुन नसकेको यस खण्डमा हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात पटकपटक अवरुद्ध हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह