उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ ।

दिक्तेलस्थित कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति र कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो ।

डिभिजन प्रमुख डा. महेश यादवका अनुसार, दुवै सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएका थिए भने गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवद्र्धन र बाली विविधीकरणमा देखाएको सक्रियता समेत अनुकरणीय रहेको थियो । कार्यालयले हरेक वर्ष यसरी उत्कृष्ट काम गर्ने योजनाका उपभोक्ता समितिलाई सम्मान गर्दै आएको छ ।

विगत नौ वर्षदेखि बन्द रहेको बाँझगरा कुलो सिँचाइ योजनामा हाल पानी सञ्चालन भइसकेको छ, जसबाट किसान उत्साहित भएका छन्। त्यसैगरी करिब १५ वर्षदेखि बन्द रहेको वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना पुनः सञ्चालनमा आएपछि त्यहाँ चैते धान उत्पादनसमेत भइसकेको छ । लेखापाल सविना मगरलाई आर्थिक वर्ष २०८२–८३ मा वित्तीय प्रशासन तथा व्यवस्थापनमा पु¥याएको योगदानका लागि सम्मान गरिएको हो। आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्दै बेरुजु न्यूनीकरण, वित्तीय अनुशासन सुदृढीकरण र आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी कार्यान्वयनमा उनको भूमिका उल्लेखनीय रहेको कार्यालय प्रमुख डा. यादवले बताए ।

आर्थिक वर्ष २०७५–७६ देखि २०८०–८१ सम्म डिभिजन कार्यालयको नौ करोड ६७ लाख १३ हजार बेरुजु रहेकोमा यस वर्ष पाँच करोड ३४ लाख ७३ हजार २५२ अर्थात् ५५.२९ प्रतिशत बेरुजु फछ्र्यौट भएको छ, जसमा लेखापाल मगरको महत्वपूर्ण योगदान रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा डिभिजन कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा सम्पादन गरेका कार्यहरूको समीक्षा समेत गरेको थियो । सम्मानित उपभोक्ता समिति तथा कर्मचारीलाई खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र कार्यालय प्रमुख डा. यादवले सम्मानपत्रसहित खदा ओढाएर सम्मान गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?