धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाएको छ । तर आवश्यक जग्गा प्राप्तिको प्रक्रिया दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारमै रोकिँदा आयोजना अघि बढ्न सकेको छैन ।
उपमहानगरले वडा नम्बर–३ कालिकानगरमा प्रस्तावित आधुनिक बसपार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरी सार्वजनिक गरिसकेको छ । प्रस्ताव गरिएको आधुनिक बसपार्क निर्माणका लागि ११६ करोड लागत अनुमान गरिएको छ । बसपार्क नगर विकास कोषको ८० प्रतिशत तथा धनगढी उपमहानगरपालिकाको २० प्रतिशत वित्तीय लगानीमा निर्माण गरिने जनाइएको छ ।
कालिकानगरमा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९ हेक्टर क्षेत्रफलमा बसपार्क बनाउने प्रस्ताव गरिएको वडा ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । प्रस्ताव गरिएको क्षेत्र मोहना नदीले छोडेको बगर हो । बसपार्क निर्माणका लागि प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेर जग्गा प्राप्तिका लागि पहल पनि गरिएको थियो ।
धनगढी नगर प्रमुख गोपाल हमालका अनुसार बसपार्कका लागि आवश्यक जग्गाको स्वामित्व लिन उपमहानगरले वन मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि फाइल संघीय वन मन्त्रालय हुँदै सुदूरपश्चिम प्रदेश सरकारको वन मन्त्रालयमा पुगेको छ । वन ऐन संशोधनपछि वन क्षेत्रको जग्गा उपलब्ध गराउने प्रक्रिया प्रदेश सरकारको निर्णयसँग जोडिएको छ ।
‘अब सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले यसलाई प्राथमिकताको आयोजनाका रूपमा स्वीकृति दिएर फाइल पुनः संघीय वन मन्त्रालयमा पठाउनुपर्छ । संघीय मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र जग्गा उपलब्ध हुन्छ,’ हमालले भने ।
तर प्रदेश मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुन नसक्दा फाइल प्रदेश सरकारमै रोकिएको उनको भनाइ छ ।
प्रस्तावित बसपार्कमा तीन सय सवारी साधन अट्ने क्षमता हुनेछ । जसमा लामो दूरी, छोटो दूरी, नगर बस, अटो लगायतका सवारी साधन पार्किङ गर्न मिल्नेछ ।
त्यसैगरी, बसपार्कभित्र दुई तले भवन समेत रहनेछ, जसमा प्रहरी चौकी, १० शय्याको अस्पताल, बैठक कक्ष, स्तनपान कक्ष, सामाजिक सुरक्षा कक्ष, र स्पाहरू समेत रहने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
मन्त्रिपरिषदबाट प्रस्तावित बसपार्कका लागि जग्गा प्राप्ति भएमा नगर विकास कोषबाट ८ प्रतिशत ब्याजदरमा २५ वर्षका लागि ऋण लिने तयारी गरिएको छ ।
उपमहानगरपालिकाले वार्षिक १३ करोड ६६ लाख आम्दानी हुने अनुमान गरेको छ, जसले मात्र ८ वर्षभित्र ऋण चुक्ता गर्न सकिने नगर प्रमुख हमालले जानकारी दिए ।
बसपार्क निर्माण भएपछि धनगढीको सार्वजनिक यातायात व्यवस्थित हुने, यात्रुले आधुनिक सुविधा पाउने र सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा धनगढीको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नगर प्रमुख हमालले धनगढीलाई आधुनिक र व्यवस्थित बसपार्क दिने लक्ष्य रहेको उल्लेख गर्दै प्रदेश सरकारले आवश्यक निर्णय गरेर प्रक्रिया छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् ।





