साकेलामा श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु

पहिरोका कारण जोखिममा परेको विद्यालय संरक्षणमा जुटेका स्थानीयवासी ।

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले पहिरोका कारण जोखिममा परेको विद्यालय संरक्षणमा जुटेको छ । वर्षा याममा बाँझेच्यानडाँडाको डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयको पर्खाल भत्किदा विद्यालय जोखिमपूर्ण अवस्थामा पुगेको थियो । 

विद्यालय जोगाउन “साकेला श्रम अभियान” अन्तर्गत साउन १६ गतेदेखि श्रमदानबाट रिटेनिङवाल निर्माण कार्य सुरु गरिएको छ । बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईको संयोजन र गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित यस अभियानमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासी सहित ७० भन्दा बढी व्यक्तिको सक्रिय सहभागिता रहेको छ । 

वडाध्यक्ष राईका अनुसार रिटेनिङवाल निर्माणका लागि आवश्यक सिमेन्ट गाउँपालिकाले उपलब्ध गराउने र अन्य सामग्री तथा श्रम भने स्थानीयवासीको सहयोगमा जुटाइँदै छ । गाउँपालिका अध्यक्ष राईले सामूहिक श्रमदानमार्फत विद्यालयलाई तत्काल जोखिममुक्त बनाउने कार्य अघि बढाइएको बताए । 

विपद् व्यवस्थापन, सार्वजनिक पूर्वाधार संरक्षण, सामुदायिक सहभागिता र सामाजिक एकताको प्रभावकारी नमुना प्रस्तुत गर्दै “साकेला श्रम अभियान” स्थानीय तहमा श्रम संस्कृतिलाई संस्थागत बनाउने अभियानका रूपमा निरन्तर विस्तार हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत