कोरोना महामारीको संक्रमण पूर्वानुमान गरेभन्दा निकै तीव्र र व्यापक हुँदै जाँदा सरकारले गरेका तयारी फिक्का हुँदै गएको आमरूपमा महसुस हुँदै गएको छ । छिमेकी देशहरूका तुलनामा निकै ढिलो र नगन्य मात्रामा महामारीको संकेत देखापरे पनि यसले कुनै बेला भयंकर रूप लिन सक्ने अनुमान गरी त्यसविरुद्धको तयारीलाई सशक्त रूपमा अघि बढाउन नसकिएको यथार्थ हो । सरकार आफंैमा नेपाली सबैमा कोरोना प्रतिरोधात्मक शक्ति निकै धेरै भएकाले संक्रमण त्यति नहुने इच्छा प्रकट गर्दै अलमलिन थाल्यो । यसले विलम्बलाई निम्त्यायो । यो विलम्ब अहिलेको कोरोना संक्रमणको अनुपातलाई हेर्दा निकै महँगो साबित हुने भएको छ । आवश्यक तयारीका लागि चालिनुपर्ने कदममा अनावश्यक ढिलाइ हुँदा समयमै गरिनुपर्ने काम पनि हुन सकेन । यसले देशभित्र सिर्जना हुँदै जाने अवस्था के हुन्छ र त्यसलाई उचित सम्बोधन गर्न हाम्रो तयारी कति रहन्छ भन्ने सामान्य अनुमान पनि गर्न मानसिक रूपमा तयार गरेन । अर्कोतिर वैदेशिक रोजगारमा गएका नेपाली स्वदेश फिर्ता भए भने उनीहरूलाई धान्न हाम्रो क्षमताले पुग्छ कि पुग्दैन त्यो पनि अनुमान गरिएन । यो सरकारको पहिलो र अवधारणा निर्माणमा कमजोरी थियो ।
चीनबाट विद्यार्थी स्वदेश फिर्ता ल्याउँदा जुन सजधजका साथ भक्तपुरमा क्वारेन्टाइन निर्माण गरेर उदाहरण देखाउन खोजिएको थियो । त्यति बेलै सरकारलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य विशेषज्ञहरूले केही तीखो टिप्पणी पनि गरिसकेका थिए । तर, सरकारले यसलाई आलोचनाका लागि आलोचनाको रूपमा लियो । सरकारको पहलमा भए÷गरेका राम्रा काम देख्न नसकेको कोणबाट प्रतिटिप्पणी पनि गरिएको थियो । यदि त्यतिबेलै सरकारले ती विशेषज्ञलाई बोलाएर आवश्यक सरसल्लाह लिई तयारी थालेको भए आजको अवस्थाको सामना गर्न सक्ने हैसियतमा हामी नेपाली हुने थियौं । चीनबाट नेपाली फिर्ता ल्याएपछि अन्य देशबाट पनि फिर्ता ल्याउन बाध्य हुने संकेत त्यति बेलै मिलेको थियो । तर, सरकारले उठाइएका प्रश्नहरूको गम्भीरताका साथ जाँचपड्ताल गरी आइपर्ने समस्या समाधानमा लाग्नुपर्छ ।
अहिले महामारीले च्याप्दै ल्याएको छ । संक्रमण आमजस्तै हुन थालेको छ । सानोतिनो प्रयास, थोरै जनशक्ति, उपलब्ध साधनस्रोत र ढिलाढाला परिचालनले यसलाई धान्न सक्ने अवस्था छैन । संक्रमणले व्यापकता लिन थालेको छ । स्वास्थ्य सामग्रीको अभाव छ । संक्रमण दिन दुई गुणा र रात चौगुणा भएर गइरहेको छ । क्वारेन्टाइनमा बसेकाका लगि पहिलो चरणको पीसीआर टेस्ट पनि हुन सकेको छैन । दैनिक कम्तीमा पनि १० हजार पीसीआर टेस्टको आवश्यकता छ । तर, सरकारले दिनमा केवल ३ हजारदेखि बढीमा ४ हजार पीसीआर मात्र उपलब्ध गराएको छ । यो अवस्था कायमै रहेमा कोरोना संक्रमणले आमरूप धारण गर्ने र भयावह स्थिति निम्त्याउने देखिएको छ । अर्कोतिर क्वारेन्टाइनमा रहेकाहरू उल्टै संक्रमित हुने अवस्थामा छन् । आवश्यक मापदण्ड नपु¥याई निर्माण गरिएका कारण क्वारेन्टाइनहरू कोरोना संक्रमण हबका रूपमा देखापरेका छन् । यी सबै कुरामाथि गम्भीर रूपमा ध्यान दिँदै सरकारले तत्काल प्रभावकारी कदम चाल्नु जरुरी भइसकेको छ ।






