लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम । हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन् । सडकको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो ।

यसले स्थानीयवासी, विद्यार्थी, किसान र यात्रुले दैनिक रूपमा सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ । तर, बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

पुल निर्माण अधुरै रहेकाले बालुवा र माटोले बनाइएको वैकल्पिक बाटो साँघुरो र जीर्ण बन्दै गएका स्थानीय सुरेश साहले बताए । उनका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण दैनिक रूपमा घण्टौसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन वर्षायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ ।

कतिपय अवस्थामा यात्रुले लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ भने एम्बुलेन्स, विद्यालयका सवारीसाधन र अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको स्थानीय सञ्जीकुमार मिश्रले बताए ।

स्थानीयले पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएपनि कामले अपेक्षित गति लिन नसकेको उनको गुनासो छ ।

सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै तयार हुने अपेक्षा गरिए पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ । उक्त पुल निर्माणका लागि विसं २०७९ फागुनमा रामजानकी निर्माण सेवा जनकपुरधामले २० करोड रुपैयाँ सम्झौता गरेको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेमा सम्पन्न गर्ने गरी म्याद थप भएपनि हालसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले बताए । उनका अनुसार निर्माण व्यवसायीले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरेर तीव्रता दिने तयारी भइरहेको छ ।

पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा समस्या अझ गम्भीर बन्ने स्थानीय बताउँछन् । खोलामा पानीको बहाव बढेपछि आवतजावत गर्न कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने स्थानीयको अनुभव छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित