काठमाडौं । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिए । ‘हामीले बिमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अबदेखि दर्ता सहयोगीविना बिमा आबद्धता, नवीकरणलगायत सबै काम हुन्छन् ।’
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनमार्फत बिमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
सो प्रणालीमार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमालेख नवीकरण गर्न सक्नेछन् । अहिले बिमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० रुपैयाँबराबरको योगदानको आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।
थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँबराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
सम्बन्धित समाचार
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने
सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन मौसम विभागको सुझाव
यी हुन् केयुको उपकुलपतिका लागि छानिएका १० आवेदक
कार्यस्थलमा स्तनपान कक्षको अभाव
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत
रेसुङ्गा बहुमुखी क्याम्पस ऋणमुक्त
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता






