इलाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
फिक्कलमा हिजो शनिबार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठक उद्घाटन गर्दै ओलीले वर्तमान सरकार जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए ।
इलामको फिक्कलमा शनिबार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक उद्घाटन गर्दै ओलीले सरकार जनताका दैनिक समस्या समाधान, विकास र सुशासनका सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।
ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले देशलाई सही दिशामा अघि बढाउन नसक्ने दाबी गरे । सरकारको प्राथमिकता जनताको समस्या समाधान र मुलुकको विकास हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनको आरोप थियो ।

“हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन, यो देश तपाईँ–हाम्रो हो । तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,” ओलीले भने । उनले सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोपसमेत लगाए । आफू, रमेश लेखक र अन्य नेताहरूलाई पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भएको दाबी गर्दै ओलीले सरकारको कदमप्रति आपत्ति जनाए ।
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगको निष्पक्षतामाथि पनि ओलीले प्रश्न उठाए । छानबिनको प्रक्रिया सबैका लागि समान हुनुपर्ने भन्दै उनले राजनीतिक पूर्वाग्रहका आधारमा व्यक्तिलाई लक्षित गर्न नहुने बताए । सुनसरीमा भएको घटनाको प्रसङ्ग निकाल्दै ओलीले सरकारमाथि सामाजिक तथा साम्प्रदायिक तनाव बढाएको आरोप लगाए । सरकारकै गतिविधिका कारण विवाद र हिंसा भड्किएको उनको दाबी थियो ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको प्रसङ्गमा ओलीले आपत्ति जनाए । राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सरकार र प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने उनले बताए ।
ओलीले आदिवासी जनजातिका अधिकार, पहिचान र समान सहभागिताका विषयमा एमाले प्रतिबद्ध रहेको बताए । जनजाति समुदायका सवाललाई राजनीतिक रूपमा स्थापित गर्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई थप सशक्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
बैठकमा एमाले सचिव भानुभक्त ढकाल, सचिव शेरधन राई, नेता विशाल भट्टराई, भगवती चौधरीलगायतका नेताहरू सहभागी थिए ।
ओली शनिबार नै इलाम आइपुगेका हुन् । उनी आज आइतबार इलाममा रहने बताइएको छ ।
सम्बन्धित समाचार
कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक
कोशीमा मुख्यमन्त्रीवाट हिक्मतलाई हटाएर छाडिन्छः इन्चार्ज शेरधन
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
दुर्गा प्रसाईँ र धवल शमशेरले गठन गरे ‘जय नेपाल पार्टी’






