काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ ।
एमालेले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एमालेका अनुसार जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढीपहिरो र सडक अवरोधका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । घटनामा सात जना घाइते हुनुका साथै आठ घरमा क्षति पुगेको एमालेले जनाएको छ ।
रोल्पामा यसअघि पहिरोमा परी १७ जनाको मृत्यु भएको र सुनछहरी गाउँपालिका– २ फलबाङमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको एमालेले जनाएको छ । यस्तै, पोखरा–२६ सक्नेरी जाने क्रममा विजयपुर खोलाले बगाउँदा दुई किशोर बेपत्ता भएका छन् । बाढीपहिरोका कारण बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, जाजरकोट–डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र शहीद मार्गसमेत अवरुद्ध भएको एमालेले जनाएको छ ।
एमालेले बेपत्ताको खोजी, पीडितको उद्धार, राहत वितरण तथा अवरुद्ध सडक सञ्चालनलाई तीव्रता दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका स्थानीय कमिटी र कार्यकर्तालाई आह्वान गरेको छ ।
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ
काठमाडौंमा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ यसरी पर्याे पक्राउ
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने






