दैलेख । शुक्रवार दैलेख नारायण नगरपालिकाका २० महिने दुधे बालक सहित २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्ला सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेशनमा उपचार गराइरहेका २२ ले कोरोना जितेर घर फर्किएका हुन् ।
कोरोना जितेर घर फर्किएका मध्ये कसैले दुई हप्ता त केहीले २० दिनमा कोरोना जितेका हुन् । कोरोना संक्रमण पुष्टि भएको व्यक्तिहरुको दोस्रो पटकको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि शुक्रबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय दैलेलेखले जनाएको छ । कोरोना जितेर फर्किने व्यक्तिहरु सबै भारतबाट गाउँ फर्किएका हुन् । आइसोलेसनमा रहेका व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपछि र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।

‘आत्मबल बढाए कोराना जितिन्छ’
कोरोना जितेर घर फर्किएका एक युवाले आत्मबल बढाए कोरोना जितिने बताए । ‘सुन्दा खेरी यसको डर त्रास जति थियो । त्यस्तो रहेनछ । सामान्य विधिबाटै यसको उपचार भएको देख्दा स्वयम् आफु नै दंग छु । उपचार नै सरसफाई,सामाजिक दुरी कायम, विहान बेलुका तातो पानी योगाअभ्यास नै हो । हामीले यसरी नै जित्यौं । सुन्दा जति डर लाग्थ्यो, त्यस्तो छैन र होइन रहेछ ।’
स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्किनेमा दैलेख नारायण नगरपालिका वडा नम्बर –२ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर –३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर –४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका हुन् ।
त्यसैगरी वडा नम्बर –६ का २७ वर्षीय पुरुष, वडा नम्बर –८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर –९ का २० र ५० वर्षीय पुरुष, वडा नम्बर –१० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको जनस्वास्थ्य अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार अब नारायण नगरपालिकाका संक्रमित १७२ जना संक्रमित आइसोलेशनमा उपचाररत छन् ।
कोरोना रोगलाई परास्त गनलाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे । घर फर्किने क्रममा उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् ।
शुक्रबार कोरोना जितेर डिस्चार्ज भएका २२ जनासहित दैलेखका २६ जनाले कोरोना जितेका छन् । डुङ्गेश्वर गाउँपालिकाका एकजना र दुल्लु नगरपालिकाका तीनजना कोरोना जीतेर घर फर्कि सकेका छन् ।








