फिक्कल । धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा जमिन समेत बाँझै छाडेर सहर केन्द्रित हुन्छन् ।
सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् । मोजमस्तीको बहानामा विदेशमा कमाएका पैसा अनुत्पादनक क्षेत्रमा नै खर्चिन्छन् तर इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्बाङ त्यस्ता युवा हुन्, जसले विदेशमा कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा नै लगानी गरेका छन् ।
पाँच वर्ष दक्षिण कोरियामा बसेर कमाएको पैसाले गाउँमा कृषि तथा पशुपालन व्यवसायमा लागेका छन् । २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका हुन् । आफ्नै गाउँमा १७ बिघा जग्गामा कृषि तथा पशुपालन व्यवसाय गर्दै आएको उनले बताए ।
कोरियामा देखेको कृषि प्रविधिको सीपलाई उपयोग गर्दै आफ्नै दुई बिघा जमिन र १५ बिघा जमिन भाडामा लिएर कृषि तथा पशुपालन व्यवसाय गरिरहेको उनले सुनाए ।
व्यवसायबाट उनले वार्षिक ७० लाख आम्दानी गर्दै आएका छन् । ‘मैले आठ वर्षदेखि कृषि र पशुपालन व्यवसाय संयुक्त रुपमा गर्दै आएको छु । दुवै व्यवसायबाट वार्षिक ७० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु,’ उनले भने, ‘हामी धेरै स्वदेशको महत्त्व नबुझेर पनि विदेश गइरहेका छौँ । विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने रहेछ ।’
उनको फार्ममा अहिले पशुपालनतर्फ १७ वटा माउ भैँसी र सात वटा माउ गाई छ । यसमध्ये ११ माउ लैना भैँसी र चार वटा लैना गाई रहेको छ । चार माउ भैँसी र तीन माउ गाई ब्याउने रहेको उनले बताए ।
उनले दैनिक १२० देखि १२० लिटरसम्म दूध बेच्दै आएका छन् । उनले उत्पादन गरेको दूध स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देशीय सहकारी संस्थामा बिक्री हुने गर्दछ ।
दूधको मूल्य भने फ्याटका आधारमा फरकफरक छ । गाईको दूध प्रतिलिटर रु ६५ र भैँसीको दूध प्रतिलिटर रु ९० सम्म बिक्री गर्दै आएको उनले बताए ।
‘उत्पादित दूध सहरकीले फ्याटका आधारमा खरिद गर्ने गरेको छ । गाईको दूधमा फ्याट कम हुने भएकाले प्रतिलिटर रु ६५ मा र भैँसीको दूधमा फ्याट बढी हुने भएकाले प्रतिलिटर रु ९० मा बिक्री हुँदै आएको छ,’ उनले भने, ‘लगानीअनुसार दूधको मूल्य चाँही अलि बढाउन पाए राम्रो हुनेथियो ।’
त्यस्तै उनले मासु उत्पादनका लागि समेत तयारी थालेका छन् । उनले मासु उत्पादनका लागि राँगापालन सुरु गर्नुभएको छ । उनको फार्ममा एक दर्जन ससाना राँगासमेत छन् । पशुपालनका लागि उनले पाँच बिघा जनिनमा सुपर नेपिरयर जातको आधुनिक घाँससमेत लगाएका छन् ।
गाईभैँसी पालनबाट उत्पादित गोबर मल कृषि व्यवसायमा नै प्रयोग हुने भएकाले दोहोरो फाइदासमेत हुँदै आएको उनको भनाइ छ । कृषितर्फ उनले तरकारी १० बिघामा तरकारीखेती लगाएका छन् । उनले गोलभेँडा, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन, खुर्सानीलगायतको तरकारी बाली लगाएका छन् ।
उनले उत्पादन गरेको तरकारी भने झापाको दमकमा खपत हुँदै आएको छ । व्यापारीहरुले फार्मबाट नै खरिद गरेर लैजाने गरेका छन् । कृषि तथा पशुपालनबाट उनले मनग्य आम्दानी गर्दै आएका हुन् । कोरियामा कमाएको पैसा गाउँमा नै कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेर आफू उनले मात्र स्वरोजगार बनेका छैनन् पाँच युवालाई समेत रोजगारी दिएका छन् ।
उनीहरुलाई खान र बस्न सुविधानसहित मासिक २० हजार रुपैयाँका दरले तलब दिने गरेको उनले सुनाए । ‘कृषि र पशुपालन व्यवसायमा म आफैँ खट्ने गर्दछु, मेरो काममा श्रीमतीले पनि सहयोग गर्दै आउनुभएको छ,’ उनले भने, ‘दैनिक ज्यालादारीमा समेत कामदार लगाउने गरेको छु ।’
उनको फार्ममा मासिक रु सात लाखको कारोबार हुँदै आएको नेम्बाङले बताए । विदेशबाट कमाएको पैसा गाउँमा नै लगानी गरेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमा नै कृषि र पशुपालन व्यवसाय सञ्चान गरेको नेम्बाङको भनाइ छ ।
‘सहरमा बस्नकै लागि भए पनि पुग्ने जति त कोरियामा बसेर कमाएकै थिएँ । मलाई बसीबसी खान पुग्थ्यो,’ नेम्बाङले भने, ‘तर विदेशबाट कमाएको पैसा गाउँमा लगानी गरेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन गाउँमा नै व्यवसाय सञ्चालन गरेको हुँ ।’
उनी नेपालबाट इपिएस प्रणालीअन्तर्गत २०७० सालमा दक्षिण कोरिया गएर २०७५ सालमा स्वदेश फर्किएका थिए । स्वदेश फर्केपछि २०७६ देखि व्यावसायिक रुपमा कृषि र पशुपालन सुरु गरेका थिए । सुरुमा २५ लाख रुपैयाँको लगानीमा थालेको उनको व्यवसाय अहिले करोडौँको पुगेको छ ।
उनले आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्नसकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो कमाइ गर्न सकिने बताए ।
व्यवसाय प्रवर्द्धनमा सरकारको सहयोग
उनको कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धनका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समेत सहयोग छ । उनलाई आर्थिक वर्ष २०७७र७८ मा कृषि ज्ञान केन्द्र इलामले तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत टनेल व्यवस्थानका लागि ५० प्रतिशत साझेदारीमा चार लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट तरकारी पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत साझेदारीमा आठ लाख उपलब्ध भएको थियो ।
दुवै अनुदानबाट व्यवसाय प्रवर्द्धनमा सहयोग पुगेको उनले बताए । त्यसयता भने कुनै निकायबाट सहयोग प्राप्त नभएको उनको गुनासो छ ।
‘सुरुमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबाट राम्रै सहयोग पाएको थिएँ । त्यसबाट व्यवासाय प्रवर्द्धनमा राम्रो मद्दत मिल्यो,’ उनले भने, ‘तर त्यसयता कुनै निकायबाट केही सहयोग छैन । उद्यममा लागेका युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’
राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उनको भनाइ छ । ‘स्वदेशमा व्यवसाय गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ,’ उनले भने, ‘पहुँचका भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले किसान मारमा परेको अवस्था पनि छ, यसमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।’
कृषि तथा पशुपालन व्यवसायका लागि बजारको कुनै समस्या नरहेको तर मूल्य अस्थिरता मुख्य समस्या रहेको उनी बताउछन् ।
सम्बन्धित समाचार
अलैँची रोप्न व्यस्त इलामका किसान
मूल बीउका लागि कोदोखेती
साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
जाजरकोटमा भूकम्पको धक्का
ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा






