सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन


काठमाडौं । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।

विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १३ भदौदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् । साथै, १२ भदौदेखि आयोजित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गरी संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न र अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार तथा सभा–सम्मेलन जस्ता सामूहिक कार्यक्रमहरू नगर्न भनिएको छ । कठिन परिस्थितिमा विद्यार्थी र अभिभावकको सुरक्षा तथा हितलाई सर्वोच्च प्राथमिकता दिन जोड दिँदै विपद्बाट प्रभावित क्षेत्रका विद्यार्थीहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।

यसैगरी, विपद्का कारण विद्यार्थीहरूमा पर्न सक्ने मानसिक तनावलाई ध्यानमा राखी प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको प्रबन्ध मिलाउन समेत निर्देशन दिइएको छ । प्राकृतिक विपद्ले अध्ययनमा पारेको असरलाई न्यूनीकरण गर्दै विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आवश्यक कदम चाल्न र वर्तमान संवेदनशील अवस्थालाई गम्भीरताका साथ लिई यी निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयले सबै विश्वविद्यालयहरूलाई आह्वान गरेको छ ।

यस्तो छ विज्ञप्ति

नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछु। साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गर्दछु ।

साथै, देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछु:

१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने।

२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने।

३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने।

४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने।

५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने।

वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछु।

विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछु।

सस्मित पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन