चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो ।
निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । छेउको भागबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उनले जानकारी दिए । उनका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम सकिने छ ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिन सफा गरेपछि काम अघि बढेको हो । सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडालाई काटेर सडक खोल्न लागिएको हो । ट्र्याक ३५० मिटर लामो हुनेछ । सात मिटर चौडाइको ट्र्याक बनाउन लागिएको हो ।
यसअघि सञ्चालनमा रहेको झन्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो । त्रिशूली नदीले फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो । यही १४ भदौमा सो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथाशक्य छिटो यो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिइसकेको छ । भदौ महिनाभित्र कृष्णभीर सञ्चालन गर्नेगरी काम अघि बढाइएको छ ।
सो सडकलाई मर्मत सम्भार गरिएपछि २०६० साल यता सो खण्डमा यातायात सञ्चालन सहज भएको थियो । सडकको दुवैतर्फ कडा चट्टान छ । भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्र बताउँछन् । अहिले सोही ठाउँमा समस्या आएको हो । गत वर्ष सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मत भइरहेको थियो ।
सम्बन्धित समाचार
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, ल्यान्डस्लाइड ड्याम सम्बन्धमा अनुसन्धान जारी
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने
प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
बाढीबाट ज्यान गुमाउनेको सम्मानमा २२ भदौका दिन राष्ट्रिय शोक घोषणा
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने






