रिची नाकामा सहायता सामग्री हस्तान्तरण

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई उपलब्ध गराएको बेलिब्रिजसहितको आपतकालीन राहत सामग्री सिगात्सेस्थित रिजी नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। विपद्को कठिन घडीमा दुई देशका जनताबीच रहेको ऐक्यबद्धता र पारस्परिक सहयोगको सन्देश झल्काउने गरी नाकामा चिनियाँ र नेपाली भाषामा “साझा हिमाल, साझा नदी—सुख–दुःखमा एकताबद्धः सिजाङ नेपाल सहयोगका लागि तत्पर” भन्ने ब्यानर राखिएको थियो।

सहायता सामग्रीमा मुख्यतः बेलिब्रिज निर्माणका लागि आवश्यक विशेष उपकरणहरू समावेश छन्। तीमध्ये बेली प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेकिङ तथा आई–बीम लगायतका सामग्री रहेका छन्। उपलब्ध गराइएको सामग्रीबाट दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने बताइएको छ।

यी सामग्री नेपालका पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध भएका महत्वपूर्ण यातायात सम्पर्क पुनःस्थापना गर्न तथा उद्धार एवं राहत कार्यलाई प्रभावकारी बनाउन प्रयोग गरिनेछ।

यसै दिन सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच ल्हासामा सहायता हस्तान्तरणसम्बन्धी औपचारिक समारोहसमेत सम्पन्न भएको थियो। नेपाली पक्षको तर्फबाट ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।

समारोहमा नेपाली पक्षले विपद्पछि चीनले तत्काल देखाएको सक्रियता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो। सिजाङ स्वायत्त क्षेत्रले समयमै उपलब्ध गराएको सहायता नेपाल र सिजाङबीचको गहिरो मित्रता तथा आत्मीय सम्बन्धको उदाहरण भएको उल्लेख गरिएको थियो।

साझा हिमाल र नदीले जोडिएका दुई छिमेकी क्षेत्र कठिन परिस्थितिमा पनि एकअर्काको साथमा उभिन्छन् भन्ने सन्देश यस सहयोगले पुनः स्थापित गरेको छ। यसलाई नेपाल–चीनबीच साझा भविष्यसहितको समुदाय निर्माण गर्ने अवधारणाको एउटा जीवन्त अभ्यासका रूपमा समेत लिइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

१० दिनमा १,२९४ शव, ५ हजार ८३ अझै बेपत्ता