धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।
अस्पताल सञ्चालनमा आएसँगै सामान्य स्वास्थ्य समस्या देखिँदा समेत उपचारका लागि गाउँपालिकाबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयको भनाइ छ। गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि उपचारका लागि धनगढी लगायतका सहरमा धाउनुपर्ने समय र खर्च दुवै जोगिएको उनीहरू बताउँछन्।
गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा अन्य व्यवस्थापन मिलाइएकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको बताए।
कैलारी–५ बैजपुरकी स्थानीय प्रेमदेवी चौधरीले गाउँमै अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताइन्।
‘स्वास्थ्यमा कुनै समस्या आइहाले उपचारका लागि धनगढी लगायतका अस्पतालमा धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ,’ उनले भनिन्, ‘घरनजिकै अस्पतालको सुविधा भएपछि निकै सहज भएको छ। उपचारका लागि आवतजावत गर्दा लाग्ने समय र खर्चसमेत जोगिएको छ।’
स्थानीय चरणलाल चौधरीले गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउनु स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार १८ करोड ५२ लाख ६३ हजार ८६९ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि आकस्मिक सेवा, भिडियो एक्सरेलगायतका सेवा विस्तारमा समेत ध्यान दिइएको उनले बताए।
अस्पतालका निमित्त प्रमुख बलबहादुर धानुकका अनुसार हाल अस्पतालबाट ओपीडी, फार्मेसी, प्रयोगशाला, ईसीजी तथा २४ सै घण्टा प्रसूति सेवा उपलब्ध भइरहेको छ।
अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा एक हजार २०० जनाले विभिन्न स्वास्थ्य सेवा लिइसकेको अस्पताल प्रशासनले जनाएको छ। हाल अस्पतालमा एक मेडिकल अधिकृतसहित १८ जना कर्मचारी कार्यरत छन्।
सम्बन्धित समाचार
क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा
बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना
सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन
एनभिडियाका सीईओले नेपाललाई दिए डेढ अर्ब रूपैयाँभन्दा बढी
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन






