काठमाडौं । समाज कल्याण परिषद्लाई समयानुकूल, प्रभावकारी र परिणाममुखी बनाउने गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाको संयोजकत्वमा गठित समितिले परिषद्को पुनर्संरचनासम्बन्धी प्रतिवेदन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसमक्ष पेश गरेको हो ।
समितिले तयार पारेको प्रतिवेदनमा समाज कल्याण परिषद्को विद्यमान संरचना र कार्यप्रणालीको पुनरावलोकन गर्दै परिषद्लाई थप प्रभावकारी, कार्यमूलक र उत्तरदायी बनाउने गरी संस्थागत पुनर्संरचनाको प्रस्ताव गरिएको छ । सामाजिक क्षेत्रका कामलाई थप व्यवस्थित, समन्वयात्मक र नतिजामुखी बनाउन आवश्यक संरचनागत सुधारका विषयसमेत प्रतिवेदनमा समेटिएका छन् ।
पुनर्संरचनाका लागि आवश्यक पर्ने कानुनी व्यवस्थाको प्रारम्भिक मस्यौदा र पुनर्संरचनापछि परिषद्को प्रस्तावित संरचनाको प्रारम्भिक खाकासमेत समितिले प्रतिवेदनमा प्रस्तुत गरेको छ । यसले परिषद्को भावी भूमिका, संरचना र कार्यप्रणालीलाई थप स्पष्ट र प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
समितिले तयार पारेको कानुनी मस्यौदालाई अब मन्त्रालयमा गठित विधेयक तर्जुमा समितिले कानून तर्जुमाको दृष्टिले थप अध्ययन, परिमार्जन र परिष्कृत गर्नेछ । त्यसपछि प्रस्तावित मस्यौदा सरोकारवालाहरूको राय तथा सुझावका लागि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
समाज कल्याण परिषद्को पुनर्संरचनामार्फत सामाजिक क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा कार्यक्रमबीचको समन्वय, सहजीकरण र नियमनलाई थप व्यवस्थित गर्ने सरकारको लक्ष्य छ । परिषद्को संस्थागत क्षमता अभिवृद्धि गर्दै सामाजिक सेवाका कामलाई थप प्रभावकारी र परिणाममुखी बनाउने गरी सुधारको प्रक्रिया अघि बढाइनेछ ।
प्रतिवेदन बुझ्दै मन्त्री सिता बादीले परिषद्को पुनर्संरचनालाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अगाडि बढाइने बताएकी छन् । सरोकारवालाबाट प्राप्त राय तथा सुझावलाई समेत समेट्दै प्रस्तावित कानुनी व्यवस्था र संरचनालाई थप परिष्कृत गरी परिषद्लाई सामाजिक क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने संस्थाका रूपमा विकास गर्ने मन्त्रालयको तयारी छ ।
सम्बन्धित समाचार
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
भोटेकोशी बाढी : रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड रुपैयाँ बढीको क्षति
मन्त्रिपरिषद्को बैठक बस्दै
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक






