वाग्मती प्रदेश सरकारको बजेट ५१ अर्ब ४२ करोड

हेटौंडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभामा सोमबार आर्थिक मामिला तथा योजान मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरेका हुन् ।

यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा चार अर्ब रुपैयाँ बढी रहेको छ । संघीय सरकार र अरु प्रदेश सरकारको बजेट घटेको समयमा वाग्मती प्रदेश सरकारले भने आउँदो आर्थिक बर्षका बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षको प्रदेश सरकारको बजेट ४७ अर्ब ६१ करोडको थियो ।

बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार रूपैंयाँ र पूँजिगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रूपैयाँ विनियोजन गरिएको छ । बजेटमध्ये चालुतर्फ ५१ दशमलव १२ प्रतिशत र पूँजिगततर्फ बजेटको ४८ दशमलव ८८ प्रतिशत विनियोजन गरिएको आर्थिक मामिला तथा योजन मन्त्री ढुंगेलले बताए ।

प्रदेश सरकारले बाबुआमा नभएका टुहुरा बालबालिकाहरुलाई मासिक २ हजार रुपैँयाँ भत्ता दिने भएको छ । प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुतीका क्रममा आर्थिक मामिला तथा योजना मन्त्रीले ढुंगेलले बाबुआमा नभएका बालबालिकाहरुलाई प्रदेश सरकारले मासिक २ हजार भत्ता दिने बताएका हुन् ।

वाग्मती प्रदेश सरकारले कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाई व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी निजी क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउन र नवउद्यमीहरुका लागि उद्यम उद्योग स्थापना गर्ने भएको छ । यस्ता उद्योग स्थापना तथा संचालनका लागि “उद्यमीको हात प्रदेश सरकारको साथ” कार्यक्रम अन्तरगत सहुलियत ब्याजदरमा वित्तीय संस्था मार्फत् ऋण उपलव्ध गराउने भएको छ ।

वर्षेनी श्रम बजारमा आउने जनशक्ती, विदेशबाट फर्किएका युवा, महिला, वेरोजगार, गरीब समुदायहरुलाई सानो लगानी गरी छिटो उत्पादन हुने तथा स्थानीय र स्वदेशी कच्चा पदार्थहरुको समुचित प्रयोगवाट लघु कुटिर उद्यम संचालनका लागि प्रदेश सरकारको स्विकृत कार्यविधि अनुसार हरेक स्थानीय तहमा ३० लाखको “प्रदेश सरकार लघु उद्यम कोष” स्थापना गरी मेरो उद्यम, अति उत्तम कार्यक्रम” संचालन गरिने भएको छ । मेरो उद्यम, अति उत्तम कार्यक्रमका लागि महानगरबाहेक १सय १६ वटा स्थानीय तहका लागि ३४ करोड ८० लाख रकम विनियोजन गरिएको छ । यो कार्यक्रमबाट ३ हजार ४ सय ८० वटा उद्यम स्थापना भई ६ हजार ९ सय ६० रोजगारी श्रृजना हुने अपेक्षा राखिएको छ ।

“आफ्नै श्रोत आफ्नै उद्यम” भन्ने सोचका साथ कृषि, फलफूल, जडिवुटी, हस्तकला वनमा आधारित घरेलु तथा साना उद्योगको संचालनमा सहयोग प्रोत्सहानका लागि प्रविधि हस्तान्तरण गर्न ७ करोड ३२ लाख विनयोजन गरिएको छ । प्रविधि हस्तान्तरण कार्यवाट ७ सय ३२ वटा उद्योगको स्तर पूँजीवृद्धि भई १ हजार ४ सय ६४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन ।

प्रदेश भित्रका विपन्न तथा गरीब समुदायका महिला, दलित युवाहरुलाई स्वरोजगार बनाउन लघुउद्यमी संघको सहकार्यमा ४ सय १० जना नयाँ उद्यमी श्रृजना र २ सय ७५ जना उद्यमीलाइ स्त्तरन्नतीका लागि रकमको व्यवस्था गरिएको मन्त्री ढुंगेलले बताए । रोजगारी तथा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्न प्रविधि सहितको प्राविधिक तालिमको व्यवस्था मिलाएको छ । प्रविधि सहितको प्राविधिक तालिमवाट २ सय जना दिक्षीत भई रोजगारी प्राप्त गर्ने विश्वास लिइएको छ ।

मकवानपुरको मनहरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । सभामा बजेट प्रस्तुत गर्दै उनले मनहरीमा कागज उद्योग स्थापना गर्ने उल्लेख गरे ।

रुग्न तथा संचालनमा नरहेका उद्योगहरु संचालनका लागि संघीय सरकारसँग समन्वय गरी संचालनमा ल्याउन कार्यक्रम प्रस्ताव गरिएको छ । “एक स्थानीय तह एक उद्योग ग्राम” कार्यक्रम अन्तरगत पहिचान भएका स्थामा पाँच वटा उद्योगग्रामको पूर्वाधार निर्माण गर्न र थप दस उद्योगग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ति कार्य समेतका लागि ११ करोड रकम विनियोजन गरिएको छ ।

उपभोक्ता हक हित संरक्षणका लागि कोभिड १९ कोरोना भाइरसको त्रास रहेको अवस्थामा समेत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन चुस्त बनाउन बजार अनुगमनलाई बजेट प्रस्ताव गरिएको छ । एक स्थानीय तह एक सुपथ मूल्य पसल कार्यक्रम अन्तरगत स्थानीय तहको सहकार्यमा एउटा जिल्लामा एउटा सुपथ मुल्य पसल स्थापना गर्नका लागि बजेटको व्यवस्था गरिएको छ ।

जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलयवाट वस्तु विकास तथा प्रशिक्षण कार्यक्रम रत्न पत्थर –धादिङ) , ढाका बुनाई –नुवाकोट) , काष्ठकला र धातुकला, (ललितपुर) , बाँस निगालो –सिन्धुली) हाते कागज सिन्धुपाल्चोक र दोलखामा संचालन गर्ने बजेटमा उल्लेख छ ।

प्रदेश भित्र स्थापन गर्ने गरी कागज उद्योग र जडीवुटी प्रशोशधन उद्योगको स्थापनका लागि आर्थिक विश्लेषण र जग्गा प्राप्तिका लागि रकम व्यवस्था गरिएको छ । चेपाङका लागि चिउरी कार्यक्रम अन्तरगत चिउरी खेती र चेपाङ समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि रकम व्यवस्था गरिएको छ ।

तीन वटा हिलस्टेसन र आठ वटा नमुना गन्तव्यको निर्माण कार्य थालनप् गर्न बजेटमा उल्लेख छ । हिलस्टेशन, नमुना गन्तव्य, घाञ्जालापास सञ्चालन, गौरीशंकर परिपथ लगायत चालु आबमा कार्यान्वयनमा रहेका पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । उपभोक्ता समितिबट कार्यान्वयन हुने ससाना पर्यटन पूर्वाधार विकास कार्यक्रमहरु जिल्लास्थित कार्यालयवाट सम्झौता गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । साथै पर्यटन ग्राम र कृषिमा आधारित पर्यटन कार्यक्रम संचालन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा किसानलाई प्राथमिकता दिएको छ । किसानले उत्पादन गरेको प्रतिलिटर दूधमा दुईरुपैयाँ प्रदेश सरकारले दिने भएको छ । कृषि र खाद्यान्नमा सहयोग पुग्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ