प्रहरीबाट छुटेपछि चोलेन्द्रले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शान्ति सुरक्षा माग गरेका छन् । उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेख्दै आफ्नो र आफ्ना परिवारको सुरक्षा माग गरेका हुन् । उनले आफू असुरक्षित भएको कुरा प्रहरीले पक्राउ गरेपछि नै थाहा पाएको बताएका छन् ।

प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेर आइतबार दिउँसो छाडेको थियो । त्यसपपछि मात्रै उनले शान्ति सुरक्षा माग गर्दै प्रहरीमा पत्र लेखेका हुन् ।

उनका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले प्रहरीमा निवेदन दिएको जनाइएको छ ।

देशको अवस्था, सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरूको कारण आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरेको उनको निवेदनमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश जबराको निवेदनमा भनिएको छ, ‘मेरो विगतमा राज्यका अंगहरूमा बहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिका प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयलगायतका कारण पनि ममाथि थप असुरक्षाको महसुस भएको छ । मैले कतिपय कुराहरू हालका मितिमा यस कार्यालयमा आइसकेपश्चात पनि जानकारी पाएँ । यस कारण मलाई सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु ।’

आफ्नो निवास, परिवार तथा जिउ ज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्ने उनको माग छ । शनिबार राति निवासबाटै पक्राउ परेका जबरालाई प्रहरीले उनकै सुरक्षाका लागि ल्याएको दाबी गरेको थियो । तर उनी कोबाट असुरक्षित भएको भन्ने प्रहरीले खुलाउन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीबाट छुटेपछि चोलेन्द्रले मागे सुरक्षा