पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण निश्चित विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुँदै जाने बताएका छन् । नयाँ पुस्तालाई तालिम, क्षमता विकास र जिम्मेवारीमार्फत नेतृत्वका लागि तयार गर्नुपर्ने उल्लेख गर्दै उनले पुस्तान्तरणका नाममा तत्काल नेतृत्व हस्तान्तरण गर्न दबाब दिनु उचित नभएको बताएका हुन् ।

पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै जानुपर्ने बताए । नेतृत्वमा पुग्न आवश्यक अनुभव र क्षमता हासिल गर्न समय लाग्ने उनको भनाइ थियो ।

‘हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ । तर त्यसको सिस्टम हुन्छ । एकैचोटि प्रोफेसर भइन्न । त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ,’ ओलीले भने, ‘हाम्रो नयाँ पुस्तालाई योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ । जिम्मेवारी दिँदै, ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ । अलिकति टाइम लाग्छ ।’

उनले पछिल्लो समय पुस्तान्तरणको विषयलाई लिएर समाजमा पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए । उनका अनुसार विगतमा जात, धर्म र भूगोलका नाममा समाजलाई विभाजन गर्ने प्रयास भए पनि अहिले बाबु–छोरा तथा हजुरबा–नातिबीच द्वन्द्व बढाउने प्रयास भइरहेको छ ।

‘नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ । कहिले जातका नाउँमा, कहिले धर्मका नाउँमा, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो । अहिले बाबु–छोरा, हजुरबा–नातिको मारामार लगाएर हे¥या छन्,’ उनले भने ।

ओलीले नयाँ पुस्तालाई नेतृत्वमा आउन रोक्न नहुने संकेत गर्दै त्यसका लागि आवश्यक तयारी र अनुभव अपरिहार्य रहेको बताए । उनले आफ्नो राजनीतिक जीवनको सुरुवाती समयको उदाहरण दिँदै तत्कालीन परिस्थितिमा आफूहरू कम उमेरमै नेतृत्व तहमा पुगे पनि त्यसलाई अहिलेको अवस्थासँग सोझै तुलना गर्न नमिल्ने जिकिर गरे ।

‘सीपी मैनाली पार्टीको प्रमुख भए, २० वर्ष । म १९ मा भएको थिएँ । त्यतिबेला हामी पार्टीको प्रमुख थियौँ भनेर अहिले पनि १९ वर्षको मान्छे पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुन्छ,’ उनले भने ।

उनले अहिलेको राजनीतिक परिस्थिति विगतको जस्तो नरहेको उल्लेख गर्दै नयाँ पुस्ताले तालिम र अनुभव हासिल गरेर अघि बढ्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि उमेर मात्रै आधार हुन नसक्ने उनको भनाइ थियो ।

‘अहिले आन्दोलन छैन । नयाँ पुस्ताले तालिम गर्नुपर्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । नयाँ पुस्तालाई अगाडि बढाएर लिएर जानुपर्छ,’ ओलीले भने ।

उनले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्थामा पुगेपछि सम्बन्धित व्यक्ति आफैँ नेतृत्वबाट हट्नुपर्ने पनि बताए । उमेरअनुसार व्यक्तिको शारीरिक तथा मानसिक क्षमता कमजोर हुँदै जाने भएकाले काम गर्न नसक्ने अवस्थामा नेतृत्वमा रहिरहन नहुने उनको तर्क थियो ।

ओलीले पार्टीभित्र अहिले एकता आवश्यक रहेको भन्दै पुस्तान्तरणलगायतका विषयमा अनावश्यक विवाद नगर्न कार्यकर्तालाई आग्रह गरे । सबै उमेर समूहका व्यक्तिको संयोजनबाट पार्टी अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले कार्यकर्तालाई एकजुट भएर जागरण अभियानमा सक्रिय हुन पनि आह्वान गरे ।

‘यतिबेला पार्टी एकता चाहिएको छ । सम्पूर्ण कार्यकर्ता पंक्ति एकजुट भएर अगाडि बढ्नुपर्दछ । यस पार्टीले नै देशलाई बाटो देखाउँछ,’ उनले भने ।

उनले एउटा निर्वाचनमा पराजित हुँदैमा एमाले कमजोर नहुने दाबी गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे । देशलाई सही दिशामा अघि बढाउने क्षमता एमालेसँग रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

लिग-२ क्रिकेट: नेपालद्वारा क्यानडा पराजित