राजधानी खोज : प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल एयरलाइन्सको चरम लापरबाही

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भीभीआईपी सवार उडानमा चालक दल छनोट गर्दा गम्भीर लापरबाही गरेको पाइएको छ ।

विगतमा पाँचपटक कारबाही र चेतावनीमा परेका, विदेशी उड्ययन निकायले सुरक्षा घटनाको अनुसन्धान मागेका तथा उडान समयसम्बन्धी नियम उल्लंघनको अनुसन्धानमा परेका पाइलटलाई प्रधानमन्त्रीको उडानको जिम्मेवारी दिइएको पाइएको छ । अझ, चालक दलमा छनोट गरिएका एक पाइलट भ्रमणका दुवै दिन बिदामा रहेको निगमकै रोस्टरले देखाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मंसिर ६ र ७ गतेको उडानका लागि निगमको अपरेसन विभागले क्याप्टेन उद्धव घिमिरे, क्याप्टेन सञ्जय वैद्य र भावना पन्तसहित तीन चालक दलका सदस्य तथा ६ जना एयर होस्टेज छनोट गरेको थियो ।

तर छनोट गरिएका पाइलटको विगतको उडान सुरक्षा अभिलेख, नियामकीय कारबाही र ड्युटी अवस्थामा गम्भीर प्रश्न उठेको छ । निगम श्रोतबाटै उपलब्ध कागजातले चालक दल छनोटको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेका छन् ।

निगमको कार्तिक–मंसिर महिनाको चालक दल परिचालन रोस्टरमा पाइलट घिमिरेको नाम मंसिर १ देखि ८ गतेसम्म लगातार ‘लिभ’ (बिदा) मा देखिन्छ । निगमकै रोस्टरअनुसार भ्रमणका दुवै दिन उनी बिदामा थिए । घिमिरे पाइलटको वरिष्ठता क्रममा आठौँ स्थानमा छन् । बिदामा रहेका र वरिष्ठता क्रममा आठौँ स्थानमा रहेका पाइलटलाई प्रधानमन्त्रीको भीभीआईपी उडानमा कसरी छनोट गरियो भन्ने प्रश्न उठेको छ ।

घिमिरे विगतको उडान अभिलेखमा पटकपटक कारबाही तथा चेतावनीमा परेको देखिन्छ । नागरिक उड्ययन प्राधिकरणको १६ सेप्टेम्बर २०२४ को पत्रअनुसार फ्लाइट ड्युटी टाइम लिमिटेसन उल्लंघनसम्बन्धी अनुसन्धानका लागि उनलाई २१ जुलाई २०२४ मा उडान रोस्टरबाट हटाइएको थियो ।

अनुसन्धानपछि सामान्य उडानमा फर्काउन प्राधिकरणले ८० घण्टा कम्पनीका प्रशिक्षक पाइलटसँग उडान गर्नुपर्ने र प्रत्येक १० घण्टाको उडानपछि प्राधिकरणबाट स्वीकृत डिसीपीबाट मूल्यांकन गराउनुपर्ने सर्त राखेको थियो भने उनलाई कम्पनीको स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यअर र उड्ययन नियम पालना गराउन निर्देशन दिइएको थियो ।

७ सेप्टेम्बर २०२६ मा नेपाल एयरलाइन्सको आरए४१६ उडानमा ककपिटमा अनधिकृत व्यक्तिलाई पहुँच दिएको घटनामा पनि घिमिरे कारबाहीमा परेका थिए । प्राधिकरणका महानिर्देशकको १६ अक्टोबर २०२६ को निर्णयअनुसार क्याप्टेन घिमिरेसहित सञ्जय पौडेल र ग्रिष्मा श्रेष्ठलाई कम्पनीको प्राधिकरणका निरीक्षकको उपस्थितिमा सुरक्षा तालिम लिन निर्देशन दिइएको थियो । भविष्यमा यस्ता गल्ती नदोहो¥याउन तीन जना क्याप्टेनलाई चेतावनीसमेत दिइएको थियो । पुनः यस्तै गल्ती दोहोरिए थप कडा कारबाही हुन सक्ने प्राधिकरणको पत्रमा उल्लेख छ ।

…………………………………………………………………………………………………………………….
– कारबाही र अनुसन्धानमा परेका पाइलटलाई प्रधानमन्त्रीको उडान जिम्मा

– पाँचपटक कारबाही र चेतावनीमा परेका आठौँ वरीयताका घिमिरेसहित विवादित अभिलेख भएका पाइलट छनोट
– बिदामा बसेका पाइलटलाई बोलाएर दिइयो उडानको जिम्मा
– चीन र हङकङका उड्ययन निकायले समेत मागेका थिए अनुसन्धान

…………………………………………………………………………………………………………………………….

घिमिरेको नाम चीनको ग्वाङ्झाउ विमानस्थलमा भएको अर्को उडान सुरक्षा घटनासँग पनि जोडिएको छ । ७ फेब्रुअरी २०२६ मा नेपाल एयरलाइन्सको आए ए ४१८ (ग्वाङ्झाउ–काठमाडौं) उडानमा ग्वाङ्झाउ बाइयुन विमानस्थलमा ग्राउन्ड मिसह्याप मा समेत उनलाई दोषी ठहर गरिएको छ ।

निगमको ७ फेब्रुअरीको उडान कार्यक्रममा उक्त विमानको क्याप्टेनका रूपमा घिमिरेको नाम उल्लेख छ । उडान कार्यक्रमअनुसार विमान बिहान ५ बजे ग्वाङ्झाउबाट काठमाडौंका लागि उड्ने तालिका थियो । चिनियाँ उड्डयन निकायको पत्रमा सोही उडानमा बिहान ५ः५५ बजे ग्राउन्ड मिसह्याप भएको उल्लेख छ ।

घटनापछि चीनको नागरिक उड्डयन निकायले नेपाल एयरलाइन्ससँग विस्तृत अनुसन्धान मागेको थियो । टेकअफ क्षेत्रमा भएको नेभिगेसन त्रुटि, भिजिविलीटीको अवस्था, सञ्चार, रनवेको सतह, तत्कालीन वातावरणीय परिस्थिति र पाइलटको निर्णय प्रक्रियासमेत समेटेर प्रतिवेदन बुझाउन भनिएको थियो । नेपाल एयरलाइन्सले पठाएको प्रारम्भिक जवाफप्रति असन्तुष्टि जनाउँदै चीनको नागरिक उड्ययन विभागका निर्देशक वाङ यिनले सामान्य प्रकृतिको इमेल जवाफ आएको भन्दै पुनः औपचारिक प्रतिवेदन मागेका थिए ।

त्यसपछि नेपाल एयरलाइन्सका अपरेसन विभाग निर्देशकले सुधारात्मक कदमसम्बन्धी कागजात र चालक दलको बयान पठाएका थिए । जसको अभिलेख पनि राजधानीसँग सुरक्षित छ ।

त्यसपछि निगमको सेफ्टी म्यानेजरमार्फत छुट्टै अनुसन्धान समिति गठन भएको थियो । समितिका सदस्य सचिव मोहन थापाले घटनासम्बन्धी इमेल पत्राचार, सम्पूर्ण कागजात र अपरेसन विभागको प्रारम्भिक प्रतिवेदन मागेका थिए । नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि १० मार्च २०२६ मा छुट्टै पत्र पठाउँदै घटनाको आन्तरिक अनुसन्धान गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीको उडानमा छनोट भएका अर्का पाइलट सञ्जय वैद्यको विगतको अभिलेख पनि प्रश्नरहित छैन । सन् २०२३ मा नेपाल एयरलाइन्सको विमान हङकङमा अवतरणका क्रममा दुईपटक उडान सुरक्षा उल्लंघन भएको थियो । १४ र २८ जनवरीमा भएका दुवै घटनामा विमानले निर्धारित उचाइ तथा एयर ट्राफिक कन्ट्रोलको निर्देशन पालना नगरेको भन्दै हङकङको नागरिक उड्ययन विभागले नेपाल एयरलाइन्ससँग औपचारिक अनुसन्धान मागेको थियो ।

१४ जनवरीको उडानमा विमानले उचाइसम्वन्धि मापदण्ड उल्लंघन गरेको र २८ जनवरीको उडानमा पनि उचाइ प्रतिबन्ध सम्वन्धि व्यवस्था उल्लंघन गरेको प्राप्त कागजातमा उल्लेख छ ।

हङकङको नागरिक उड्ययन विभागले २० र ३१ जनवरी २०२३ मा नेपाल एयरलाइन्सलाई छुट्टाछुट्टै इमेल पठाउँदै घटनाको कारण, पहिचान भएका कमजोरी र भविष्यमा दोहोरिन नदिन अपनाइएका सुधारात्मक कदमसहित अनुसन्धान प्रतिवेदन मागेको थियो । एउटै विमानबाट १४ दिनको अन्तरमा दुईपटक यस्ता घटना भएपछि नेपाल एयरलाइन्सले ५ फेब्रुअरी २०२३ मा ककपिट क्रुलाई विशेष सुरक्षा निर्देशन जारी गर्दै उचाइको सीमा पालना गर्न निर्देशन दिएको थियो ।

यी घटनाले नेपाल एयरलाइन्सको चालक दल छनोट तथा सुरक्षा अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन् । विगतमा उडान समय उल्लंघनको अनुसन्धानमा परेका र ककपिट पहुँचसम्बन्धी घटनामा चेतावनी पाएका पाइलटलाई प्रधानमन्त्रीको उडानमा जिम्मेवारी दिइएको छ ।

भीभीआईपी उडानका लागि चालक दल छनोट गर्ने जिम्मेवारी नेपाल एयरलाइन्सको अपरेसन विभागको हो । विभागका प्रमुख सुभाष रिजाल हुन् । विगतमा यस्ता उडानमा चालक दलका सदस्यको स्वीकृति तथा उपयुक्तता परीक्षण नागरिक उड्ययन प्राधिकरणबाट समेत गराउने अभ्यास रहे पनि यसपटक प्राधिकरणलाई जानकारी नै नदिई अपरेसन विभागले तीन चालक दलका सदस्य र ६ एयर होस्टेज छनोट गरेको स्रोतको दाबी छ ।

यस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को एनेक्स ६ मा व्यावसायिक उडान सञ्चालन गर्ने कम्पनीलाई चालक दलका सदस्यले आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न सक्ने गरी प्रशिक्षण, दक्षता परीक्षण र नियमित मूल्यांकनको व्यवस्था गर्नुपर्ने दायित्व तोकेको छ ।

प्रावधान ९.३.१ अनुसार कम्पनीले राज्यको स्वीकृतिमा ग्राउन्ड तथा उडान प्रशिक्षण कार्यक्रम स्थापना र सञ्चालन गर्नुपर्छ । यस्तो प्रशिक्षणमा नियमित दक्षता मूल्यांकनसमेत समावेश हुनुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघको मापदण्डले पनि पाइलटलाई उडान ड्युटीमा खटाउँदा लाइसेन्स, विशेष योग्यता, पछिल्लो उडान अनुभव, स्वास्थ्य अवस्था, प्रारम्भिक तथा पुनर्ताजगी प्रशिक्षण, दक्षता परीक्षण, विमानको प्रकार, विमानस्थल तथा रुटसम्बन्धी ज्ञान र उडान तथा विश्राम समयको अभिलेखसमेत विचार गर्नुपर्ने व्यवस्था गरेको छ ।

कमान्डरको जिम्मेवारी दिने पाइलटको अनुभव र उपयुक्तता परीक्षणका लागि छुट्टै छनोट प्रक्रिया हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 819 times, 1 visits today)

epaper

ताजा समाचार

सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट, सुन तोलामै ६ हजार ५०० ले घट्यो