भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण संकलन र जोखिमको मूल्यांकन गरिरहेका छन् ।
डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । राति करिब ८:१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको र चेतावनी साइरन बजाइएको थियो । शुक्रबार बिहानसम्म मानवीय क्षति भएको खबर छैन । तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ ।
सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ, जहाँ फो छु नदीसँग मिसिएर पुनात्साङछु बन्छ । यो नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्छ । त्यसैले भारतको उत्तर बङ्गाल क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।
सिन्टाफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालको सूचीमा रहेको ताल हो । सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गरी ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्था जाँच गरेका थिए । जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो । सूचीमा समावेश हुनुको अर्थ विस्फोट निश्चित हुनु नभई निरन्तर निगरानी आवश्यक हुनु हो ।
यसैबीच, भारतको केन्द्रीय जल आयोगले बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ । आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी
३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना
जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते
फ्रान्समा विरोध प्रदर्शन जारी: लाखौं जनता सडकमा, १,००० जना पक्राउ
सर्बियामा विद्यार्थी आन्दोलनको विजय, भुसिकको १४ वर्षे शासन अन्त्य
इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
इजरायलमा यहुदी–अरब सहकार्यको माग






