११ सय २६ सैनिक शान्ति मिसन जाँदै

फाइल तस्बिर

काठमाडौं । नेपाली सेनाले कोरोना कहरकै बीच आफ्ना सैनिकलाई शान्ति मिसनमा पठाउने तयारी गरेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गतको रोटेसनअनुसार सेनाले सुडान, माली, कार र लिबियामा आफ्ना १ हजार १ सय २६ सैनिकलाई पठाउने अन्तिम तयारी गरेको हो ।

यसअघि मिसनमा गएकाहरुसमेत समय अवधि सकिएर पनि कोरोना महामारीकै कारण फर्किन पाएका छैनन् । नेपालबाट थप सैनिक पठाएपछि उनीहरु फर्किने सेनाले जनाएको छ । यताबाट पठाउने टोलीको स्वास्थ्य परीक्षणपछि सबैलाई क्वारेन्टिनमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार मिसनमा जाने सैनिकहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा पठाइएको हो ।

जसअनुसार जुलाई १ तारिखमा एउटा समूह दक्षिण सुडान प्रस्थान गर्नेछ । यस्तै, ५ तारिखमा अर्को समूह कार प्रस्थान गर्नेछ । यस्तै, ७ तारिखमा माली र १५ तारिखमा लिबिया गरी दुई समूह जानेछन् ।

मिसनका लागि दक्षिण सुडानमा ७ सय, कारमा ५८, मालीमा १ सय ३८ र लिबियामा २ सय ३० सैनिक जाने सेनाले जनाएको हो ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार युएन हेडक्वार्टरले मिसनमा जाने सैनिक पठाउने जहाजको भाडादर सेनासँग मागेको र सोको विवरणसमेत पठाइएको जानकारी दिए । सेनाले यसपटक आफ्नै ध्वजावाहक जहाजमा सैनिकलाई मिसन पठाउन लागेको हो । मिसन प्रस्थान गर्नुअघि समेत क्वारेन्टिनमा राखिएका सबै सैनिकको ७२ घण्टा अगाडि पिसिआर परीक्षण गरिनेछ ।

यसअघि कोरोना संक्रमणका कारण तत्कालका लागि मिसन रोक्न भन्दै युएन हेडक्वार्टरले सेनालाई पत्र नै पठाएको थियो । सो बखत दक्षिण सुडान उड्ने तयारीमा रहेका सैनिक रोकिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम