लमजुङ । लमजुङमा एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका १६ जनासहित कुल संक्रमित ४५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बिहीबार थप भएका संक्रमितमा एक जना महिला र १५ जना पुरुष छन् ।
उनीहरू सबै क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन् । तीमध्ये सुन्दरबजार– ७ को क्वारेन्टाइनमा रहेका ९ जना, बेसीशहर– २ को भकुण्डे क्वारेन्टाइनमा रहेका ५ जना र होटल क्वारेन्टाइनमा रहेका २ जनालाई कोरोना संक्रमण भएको प्रमुख जिल्ला अधिकरी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार सुन्दरबजार नगरपालिकाका ३६, ४८ र ६० बर्षीय पुरुष ३ जना र ३५ बर्षीया महिला १ गरी ४ जनामा कोरोना संक्रमित थपिएका हुन् । उनीहरू क्रमशः वडानं– ३ का तीन जना र वडानं ४ की महिला हुन् ।
यसैगरी, बेसीशहर नगरपालिकाका– २४, २७ र ३४ बर्षीय पुरुष गरी ३ जना, वडानं ६ र ११ निवासी भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, दोर्दी गाउँपालिकाका २४ र २६ बर्षीय पुरुष २ जना, वडानं १ र ४ का हुन् । मध्यनेपाल नगरपालिकाका २६, २७, ४१ र ५० बर्षीय ४ जना पुरुष छन्, उनीहरू वडानं २ का तीन जना र ७ का एक जना हुन् । दुधपोखरी गाउँपालिका ५० बर्षीय पुरुष १ जना वडानं ६ निवासी हुन् ।
यसैगरी मस्र्याङ्दी गाउँपालिकाका ३९ बर्षीय पुरुष १ जना वडानं ३ निवासी हुन् भने राइनास नगरपालिका– ४ का ४५ बर्षीय पुरुष १ जना रहेका जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ । उनीहरू सबैको स्वाव गण्डकी प्रदेशस्तरीय प्रयोगशाला पोखरामा परीक्षण गरी पुष्टि भएको हो ।
लमजुङमा असार ८ गतेबाट कोरोना संक्रमितको पुष्टि हुन थालेको हो । पहिलो दिन पाँच जनामा पुष्टि भएको थियो । दोस्रो दिन १० गते पुनः ५ जनामा देखिएको कोरोना १२ गते ६ जनामा पुष्टि भएको हो । यसैगरी १६ गते थप ३ जनामा देखिएको थियो भने १७ गते १० जनामा देखिएको हो ।
असार १८ गते १६ जना थप भएसँगै उनीहरु सहित जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या ४५ जना पुगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार ६ जना कोरोना निको भएर घर फर्किएका छन् । संक्रमित सबैलाई आइसोसेलनमा राखिएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको पनि जिल्ला प्रशासन कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।






