काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउनलाई सरकारले गत १ असारबाट केही खुकुलो बनाएसँगै अहिले काठमाडांैको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर बिस्तारै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार र रिसोर्ट बिस्तारै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
गत १ असारबाट लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडांै उपत्यकाभित्रका विभिन्न व्यापार÷व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् । स्कुल÷कलेज, सिनेमा हल, पर्यटकीय होटलहरू र सार्वजनिक यातायातका साधन सञ्चालनमा नआए पनि अहिले काठमाडौंका सडकमा निजी सावारी साधन निकै बाक्लै गुड्न थालिसकेका छन् ।
चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनको तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
अहिलेसम्म गरिएका विविध तयारी’bout जानकारी गराउन शुक्रबार सो कम्पनीले केही सञ्चारकर्मीहरूलाई स्थलगत अवलोकन भ्रमण गराएको थियो । स्थलगत अवलोकनका बेला यस स्थानमा सेवा दिने क्रममा अपनाइने सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थाको झल्को दिने डेमोसमेत प्रर्दशन गरिएको थियो ।
चन्द्रागिरि हिल्स प्रालिका सञ्चालक हेमराज ढकालले अब सरकारले सञ्चालनको वातावरण बनाइदिए कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागु गरेर बिस्तारै सेवा दिनका लागि अहिले यस कम्पनी पूर्ण तयारी अवस्थामा बसेको बताए । उनले सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी गराउँदै भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’
उनले अहिले आपूmहरूले दैनिक १० हजार जनालाई केबलकार सेवा दिन सम्पूर्ण तयारी पूरा गरेको बताए । उनले अहिले यस कम्पनी दैनिक १० हजार जनालाई सेवा दिन सक्ने बताए । हाल यहाँ ३८ वटा केबलकारको गोन्डला सञ्चालनमा आउने जानकारी गराउँदै उनले हरेक गोन्डलामा जम्मा चार जना मात्र राखेर केबलकार सेवा दिने तयारी गरिएको बताए ।
संसारभर फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत ११ चैतबाट जारी राखेको मुलुक लकडाउनका कारण अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको केवलकार अब उच्च सुरक्षा सतर्कता अपनाएर खोल्ने तयारीमा यस कम्पनी अघि बढेको बताउँदै ढकालले भने, ‘अब ५० प्रतिशत क्षमतामा मात्रै भए पनि केबलकार र रिसोर्ट, भालेश्वर मन्दिर दर्शनलगायतका गतिविधि सञ्चालन गर्न सरकारले दिने अपेक्षा गरेका छौं ।’
आइएमइ ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका ढकालले चन्द्रागिरि हिल्स प्रालिले अब केबलकार र रिसोर्टमा आउनेहरूलाई विशेष आकर्षक छुटसहितको प्याकेज उपलब्ध गराएर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । अहिले लामो समयदेखिको लकडाउनका कारण काडमाडांै उपत्यका लगायतका मान्छेहरू चन्द्रागिरि केबलकार जस्ता पर्यटकीय क्षेत्रमा आउन खोजिरहेका छन् भन्दै उनले केबलकार र रिसोर्ट अब बिस्तारै खोल्दा मुलुकको आर्थिक गतिविधि चलायमान हुने दाबी गरे ।
सोही प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिरहेको बताए । उनले अब निश्चित क्षमतामा मात्रै भए पनि सरकारले यस्तो व्यवसाय सञ्चालन गर्न दिए कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने बताए ।
महाप्रबन्धक शाहले तत्कालका लागि ५० प्रतिशत मात्रै क्षमतामा भए पनि केबलकार सञ्चालनको तयारी गरिएको जानकारी गराए । उनले अहिले सामाजिक एवं भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षालाई विशेष ध्यानमा राखेर ५० प्रतिशत क्षमतामा सञ्चालनको तयारी गरिएको बताए । उनले अन्य समय एउटा केबलकारको गोन्डलामा आठ जना मान्छे बस्न मिल्ने भए पनि अहिले सामाजिक एवं भौतिक दुरी कायम गर्न चार जनालाई मात्र चढाइने व्यवस्था मिलाइएको बताए ।
यसैगरी, न्यूनतम प्रतिव्यक्ति एक मिटरको भौतिक दुरी कायम राखेर केबलकारको टिकट काउन्टर सञ्चालन गर्ने, टिकट काउन्टरमा स्यानिटाइजर र मास्कको व्यवस्था गरिएको पनि जानकारी गराउँदै उनले रिसोर्टमा भएमा लगेजको स्यानिटाइज गरिने पनि व्यवस्था मिलाइने बताए । त्यसैगरी, उनले भालेश्वर मन्दिर दर्शनका क्रममा पनि भौतिक दूरी कायम गराउँदै दर्शन गर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।
सबै सुरक्षा व्यवस्था मिलाएर केबलकार सञ्चालन गर्दा अब आन्तरिक पर्यटकीय गतिविधिमा केही सुधार आउने अपेक्षा गरिएको उनको दाबी छ । उनले अब सरकारले अनुमति दिएसँगै केबलकार खोल्न कम्पनी तयार भइसकेको बताए ।






