काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजनामा बाढीले क्षति पु-याएको छ । अविरल वर्षा पछिको बाढीले सिन्धुपाल्चोकमा निमार्णाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
आयोजना प्रमुख सुनिलकुमार लामाले बाढीले निर्माण हँुदै गरेको विद्युत्गृहमा जडान गर्न राखिएको इलेक्ट्रोमेकानिकल उपकरण बगाएको बताए । बाढीका कारण आयोजना स्थलसम्म पुग्ने सबै बाटा बन्द भएका छन् । उनले भने, ‘अहिले पनि त्यहाँ पानी बगिरहेको छ । हिलो र दलदलका कारण अहिले पनि त्यहाँ जान सक्ने अवस्था छैन ।’ आयोजनामा के कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको लामाले बताए ।
मध्यरातमा ’roundका खहरे खोला बढेर आएको बाढीले सिभिल ठेकेदार कम्पनीका कामदार बेपत्ता भएको खबर आए पनि बाँकी कामदार भने सुरक्षित छन् । बेपत्ता कामदारको परिचय नखुलेको आयोजना प्रमुख लामाले बताए ।
बाढीका कारण आयोजनाको निर्माणाधीन विद्युत्गृहमा लेदो पसेर भरिएको छ । निर्माण कार्य पूर्णरूपमा रोकिएको आयोजनामा विद्युत्गृहको लेदो सफा गरेपछि मात्रै निर्माण सुचारु गर्न सकिने लामाले बताए । ब्याजसहित १५ अर्ब रुपैयाँ लागतमा सन् २०१४ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म करिब ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना प्रमुखले जानकारी दिए ।
आयोजना निर्माणको ठेक्का चिनियाँ क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले पाएको छ । भूकम्प, बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्नु, ठेकेदार कम्पनीको लापर्बाहीका कारण आयोजनाको प्रगति अपेक्षाअनुसार हुन सकेको छैन । आयोजनामा पटकपटक समय थप गर्दै पछिल्लो समय सन २०२० को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको भौतिक प्रगति हेर्दा फेरि समय थप गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत् प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत संस्थापक सेयर रहेका छन् । सर्वसाधरणको १५, प्रभावित जिल्लावासीका १०, कर्मचारी सञ्चय कोषको १९ दशमलव ५ र आयोजनामा कार्यरत कर्मचारीको ३ दशमलव ५ प्रतिशत सेयर लगानी रहेको छ ।
आयोजनाबाट वाषिर्क रूपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमश : ८ दशमलव ४० र ४ दशमलव ८० मा खरिद गर्ने सम्झौता भएको छ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।






