ओली, लेखक रिहा भए, पौडेल प्रहरी हिरासतमै, देउवा दम्पती विदेशमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएयता पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षदेखि पूर्वमन्त्रीलाई पक्राउ गरिएको छ । पर्याप्त कानुनी आधार र मुद्दा दायर गर्ने प्रमाण जुटाउन नसकेपछि सर्वोच्च अदालतको आदेश र कानुनी प्रक्रियापछि केही रिहा भइसकेका छन् भने केही नेतामाथि अझै हिरासतमै राखेर अनुसन्धान जारी छ ।

सरकारको निगरानीमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्म

१३ चैत २०८२ मा बालेन नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठन भएको दोस्रो दिन नै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे । ओली सरकारका गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक पनि पक्राउ परेका थिए ।

२३ र २४ भदौ २०८२ सालमा भएको जेनजी आन्दोलन र राज्य संसाधनको दुरुपयोगसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारको निर्णयबमोजिम ओली र लेखक पक्राउ परेका थिए । तर सरकारले उनीविरुद्ध पर्याप्त कानुनी आधार र मुद्दा दायर गर्ने प्रमाण जुटाउन नसकेपछि सर्वोच्च अदालतको आदेश र कानुनी प्रक्रियापछि उनी रिहा भइसकेका छन् ।

हिरासतमा रहेकै बेला ओलीको त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । यसैगरी कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई बालेन सरकार गठन भएको तेस्रो दिन (१५ चैत, २०८२)मा प्रहरीले पक्राउ ग¥यो ।

खड्कामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो । सुरुवाती अनुसन्धान र सर्वोच्च अदालतको कानुनी निरूपणपछि उनी पनि हाल हिरासतमुक्त भइसकेका छन् ।

बालेन सरकारले कार्यभार सम्हालेको सुरुवातमा पुराना दलका शीर्ष नेतालाई समातेर निकै आक्रामक कदम चालेको भए तापनि अदालतमा पर्याप्त प्रमाण र कानुनी आधार पेस गर्न नसक्दा पक्राउ परेका तीनै जना नेता हाल रिहा भइसकेका छन् ।

ओली, लेखक, खड्का हिरासतमुक्त भए पनि अहिले एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल हिरासतमै छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको विषयमा कारबाही अगाडि बढाइएको छ ।

हाल प्रहरी हिरासतमा रहेका पौडेलमाथि अनुसन्धान चलिरहेको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको वारेन्टका आधारमा गत ८ असारमा सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो ।

व्यापारी दीपक भट्ट र शंकर ग्रुपसँग जोडिएको विवादित सेयर सरुवा तथा आर्थिक लेनदेनको विषयमा अनुसन्धान गर्न पौडेललाई काठमाडौं ल्याइएको थियो । हाल उनीमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

देउवा दम्पती हाल उपचारको सिलसिलामा विदेशमा छन् । अदालतको आदेशका कारण उनीहरू तत्काल पक्राउ परेका छैनन् । सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर, देउवा दम्पतीले सर्वोच्च अदालतमा रिट दायर गरेपछि ११ जेठमा सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको मात्र भएको’ भन्दै उनीहरूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

देउवा दम्पतीले आफूहरू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै गत २८ जेठमा सम्पत्ति शुद्धीकरण विभागलाई इमेलमार्फत पत्र पठाएर आगामी २९ साउनभित्र नेपाल फर्किएर अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त