‘लकडाउन’मा बालबालिकालाई कोशेली

काठमाडौं । लकडाउन छ । केटाकेटी स्कुल जान पाएका छैनन् । केही स्कुलले अनलाइन कक्षा सुरु गरेर केही घन्टा विद्यार्थीलाई अनलाइन कक्षामा भुल्याए पनि फुर्सदमा बालबालिकाहरू टिभीको रिमोट हातमा लिएर बसिरहेका हुन सक्छन् । वा मोबाइलमा गेम खेलेर दिन बिताइरहेका हुन सक्छन् ।

कतिपय अभिभावक आफ्ना बालबालिकालाई शैक्षिक कार्यक्रममा सामेल गराउन नसकेका तनावमा पनि हुन सक्छन् । ती साना केटाकेटीलाई शैक्षिक कार्यक्रममा सामेल गराउनका लागि सचित्र किताब प्रालिले एउटा उपाय सिकाएको छ । बालबालिकालाई उनीहरूका रुचि अनुसारका पुस्तक पढाउने ।

उक्त संस्थाले ३ देखि १० वर्षका बालबालिकाको रुचिलाई ध्यान दिएर १० वटा पुस्तकको प्याकेज सार्वजनिक गरेको छ ‘कोशेली’ । १० वर्षभन्दा माथिको उमेर समूहका बालबालिकाले पनि यो पुस्तक पढेर ज्ञानका साथै मनोरञ्जन लिन सक्छन् ।
लामो समयदेखि बाल साहित्य लेखनमा सक्रिय कृष्णदीप सिग्देलको सम्पादनमा तयार भएको यो पुस्तक हरेक बालबालिकाका लागि गतिलो पाठ्यसामग्री हो । जो बालबालिका यस्ता पुस्तकमा रमाउँछन् उनीहरूका लागि त यो गज्जबको सामग्री हो नै, जो कोर्स बाहेकका पुस्तक पढनमा जाँगर लगाउदैनन् उनीहरूका लागि यी पुस्तकले प्रेरणा दिन्छन् । अन्य पुस्तक पढ्नका लागि वातावरण तयार गर्छन् ।

१० विभिन्न किताब भिन्दा भिन्दै शीर्षकका छन् । यसमा राखिएका चित्र र शब्द बालबालिकाका लागि आकर्षक छन् । नेपाली बालसाहित्यमा यत्तिको आकर्षक पुस्तक सम्भवतः पहिलो हो । सम्पादक सिग्देल भन्छन्, “बालबालिकाका लागि किताब तयार गर्नु ठुलो कुरा नहुन सक्छ तर बालबालिकाको रुचि ठम्याएर त्यसैअनुरुपको किताब तयार गर्नु चानचुने कुरा होइन । बालबालिकाको रुचि किताबमा भएका शब्द मात्रै सिमित हुँदैन । उपयुक्त चित्र, बालबालिकाले बुझ्ने साजसज्जा, छपाइको स्तर र किताबको भौतिक गुणस्तर पनि उनीहरूको रोजाइमा पर्छ । यी किताबहरू बालपाठकको रुचिलाई सबै कोणबाट आकर्षित गर्ने लक्ष्यसहित तयार गरिएका हुन् ।”

६ दर्जन भन्दा बढी बालसाहित्यिक पुस्तकका लेखक एवं त्यति नै संख्यामा पुस्तकको सम्पादन गरेका सिग्देल नेपालमा बालबालिकाले पढ्न रुचि राख्ने पुस्तक थोरै भएकोमा चिन्ता व्यक्त गर्छन् । बालबासाहित्य केबल लेख्नका लागि लेख्ने हैन बालबालिकाले पढेर आनन्दित हुनु पर्ने उनको मान्यता छ ।

उनका प्रायः पुस्तक बालबालिकाले मन पराउने गरेका छन् । किताबको संख्या बढाएर ठुलो लेखक हुनुभन्दा पनि बालबालिकाको रुचिको साहित्य लेखेर बालबालिकालाई किताबप्रति प्रेरित गर्ने उनको धेय छ । उनी भन्छन्, “नामको चर्चा किताबको संख्याले होइन, गुणस्तरले गर्छ । एउटा नै किन नहोस्, किताब राम्रो छ भने जन्मजन्मान्तरका लागि नाम हुन्छ ।”

‘चकचके खरायो’, ‘लोभी कुकुर’, ‘के पो गर्ने खै’, ‘कथा भन्ने खाट’, ‘उपहार’, ‘चुलबुले च्यान्टु’, ‘गाउँ खाने कथा’, ‘भूत’, ‘प्यारी’ र ‘आकारको घाउ’ । कोशेली भित्र संग्रहित १० कितावको सूचि हो यो ।

यी पुस्तकको आकारैै यति राम्रो छ । बालबालिकाले पुस्तक हातमा लिने बित्तिकै कुनै सुन्दर उपहार लिएको अनुभूति गर्छन् । पहिलो पानामा आँखा गढ्नेबित्तिकै, आकर्षक चित्रले दोस्रो पाना नपल्टाई सुखै पाउँदैनन् । एवं रितले पुस्तक पढेर भ्याउँछन् । चिल्लो कागज र आकर्षक कभर यसको अर्को विषेशता हो । पटक पटक पढ्दा पनि हत्तपत्त च्यातिँदैन । एउटा पुस्ताका बालबालिकाले रहर पु-याएर पढेपछि अर्को पुस्ताका बालबालिकालाई पनि संग्रह गरेर राख्न सकिन्छ ।

को हुन् सम्पादक सिग्देल ?

बालबालिकाका प्रिय लेखक हुन् कृष्णदिप सिग्देल । लामो समय शिक्षण पेशामा संलग्न सिग्देल बालबालिकाका असल गुरु मात्रै नभएर असल अभिभावक पनि हुन् । उनी कहिल्यै बालबालिकालाई यो पढ्नै पर्छ भनेर आदेश दिँदैनन् । बालबालिकाले जे मन पराउँछन् त्यही पढ्न दिनुपर्ने उनको मान्यता छ ।

सम्पादक : कृष्णदिप सिग्देल

उनका धेरै पुस्तक बालबालिकाको रोजाइको पुस्तकको सूिचमा अङ्कित भएको छ । तर, पनि यी लेखक सिर्जनाको दुनियामा फूर्ति लाउँदै हिँड्दैनन् । “म कर्ममा विश्वास गर्छु । हल्ला मन पर्दैन ।” उनी भन्छन् । तर होइन उनी फूर्ति गर्छन्, “सिर्जनामा रम्ने व्यक्तिले पढ्नै पर्छ । आफ्ना वरिपरीका रचना अनि टाढाका पनि । जसले पढ्दैन उसले आफ्नो सिर्जनाको घेरालाई सिमित बनाएको हुन्छ । सिमित सोचले गरिएको कार्य सिर्जनात्मक हुनै सक्दैन । त्यसैले पढ्नु पर्छ । जति सक्यो धेरै । तर हामीमा पढ्ने बानी असाध्यै कम छ । लेखक तथा पाठक दुवैमा ।”

उनी जहिले पनि बालबालिकाको रुचि र क्षमतालाई ध्यान दिएर लेख्छन् । बालसाहित्य शीर्षकमा कतिपयले जे पायो त्यही लेखेर बालसाहित्यलाई बदनाम गराएका छन् भन्ने उनले बुझेका छन् र त्यही बुझाउन चाहन्छन् । कतिपय अबुझहरूले आफूलाई बालसाहित्यकारको दर्जा दिँदै बालबालिकाका लागि काम नलाग्ने पुस्तक समेत सार्वजनिक गरेका छन् । ‘त्यस्ता पुस्तकले लेखक र प्रकाशकलाई बदनाम मात्रै गराउँदैन । बालबालिकालाई साहित्यप्रति नै वितृष्णा फैलाइदिन सक्छ ।’ बालबालिकाको संवेदनशीलतालाई लेखक र प्रकाशकले ध्यान दिनुपर्ने कुरा उनले गरे ।

तपाइको प्रतिक्रिया
(Visited 646 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?