विश्व स्वास्थ्य संगठनअनुसार करिब सत्ताईस करोड मानिस प्रत्यक्ष रूपमा अवसाद (डिप्रेसन)बाट ग्रसित छन् । विश्वमा हरेक पाँचमध्ये एकजना मानिसको अवसाद र उदासपन वा व्यक्तित्वमा कमीले क्रमशः मृत्यु र आत्महत्या हुन्छ । सम्वत् २०७२ को महाभुकम्पपछि धेरैलाई अवसादले गाँजेर अस्पतालदेखि मृत्युशैयासम्म पु-याएको सन्दर्भमा कोरोना महामारीले निम्त्याउने अवसादको अकल्पनीय खतरा थप विचारणीय छ ।
नेपालमा करिब नौ लाख मानिस अवसादबाट पीडित देखिए तापनि करिब ८५ प्रतिशतको उपचार हुँदैन । परिणामतः प्रत्येक वर्ष घटीमा पाँच हजार र एक लाख मानिसले क्रमशः आत्महत्या र आत्महत्या प्रयास गर्छन्, जुन करिब ८० प्रतिशत अवसादकै एकलौटी परिणाम मानिन्छ । कोभिड–१९ ले निम्त्याएको महामारी रोगको त्रासभन्दा सयौ गुणा बढी खतरा अब भोक, शोक र अभावको चिन्ताले निम्त्याउने वास्तविकतातर्प्फ सम्पूर्ण सामाजिक एवम् पारिवारिक मनोविज्ञान क्रेन्द्रित हुनु परेको छ । घरबन्दीको समयमा समेत सरदर दैनिक पन्ध्रदेखि उन्नाईस जनासम्मको आत्महत्याको कहाली लाग्दो तथ्याङले कुल अपराधमा आत्महत्याको हिस्सा मात्रै २८ प्रतिशतभन्दा बढी देखिएकोले अवसादको समस्या अत्यन्त विकराल छ ।
असामान्य रूपमा मानिस सधैँ दुःखी, उदासीन वा दिक्दार हुने स्थितिलाई अवसाद भनिन्छ । यसलाई अत्यधिक तनावबाट उत्पन्न हुने शारीरिक वा मानसिक बिकार मानिए तापनि फगत मानसिक स्वास्थ्य समस्यासँग जोडेर हेर्नु मिथ्या हुन्छ । यसलाई मनोवैज्ञानिक वा मनोसामाजिक कारणहरूले ज्यादा प्रभावित पार्दछ । धेरैले अवसादलाई फगत चिन्ता र तनावका रूपमा बुभ्mछन् । तर चिन्ता भनेको अवसाद होइन र चिन्ता जोड तनाव बराबर अवसाद हुन्छ भन्ने सोच पनि गलत हो । यसर्थ अवसाद हुनलाई चिन्ता र तनाव दुबै हुनैपर्छ भन्ने छैन ।
नेपालमा करिब नौ लाख मानिस अवसादबाट पीडित देखिए तापनि करिब ८५ प्रतिशतको उपचार हुँदैन । परिणामतः प्रत्येक वर्ष घटीमा पाँच हजार र एक लाख मानिसले क्रमशः आत्महत्या र आत्महत्या प्रयास गर्छन्, जुन करिब ८० प्रतिशत अवसादकै एकलौटी परिणाम मानिन्छ
एकातर्फ अत्यधिक कामको चाप र जिम्मेवारी बोझले मानिसलाई समय–समयमा असह्य निराश बनाउँछ भने अर्कोतर्फ अाप्नाे अस्वस्थ्य जीवनशैलीको सही प्रबन्धन गर्न नसक्दा डाहा, रिस र आक्रोस उत्पन्न भई सुख, आनन्द र हर्षलाई दुःख, नैराश्य र कुण्ठाले थिच्दै आत्मग्लानि हुन्छ । मानिसको नियमित स्वभावभन्दा भिन्न, बानी–बेहोरमा लामो गडबडी र अत्यन्त नकारात्मक सोचद्वारा चरम उदासीपनको फलस्वरूप उत्पन्न असाध्य नैराश्यताले अवसाद जन्मिन्छ ।
मानिसको आफ्नो जीवनप्रतिकै अति घृणा समेतले गर्दा सदैव मन उदास हुने, एक्लै बस्न मन पराउने, कुनै कुरामा नरमाउने, मनमा अनेक कुरा खेल्ने र दैनिक कार्यमा बाधा उत्पन्न भई कार्यक्षमतामा प्रत्यक्ष ह्रास पुग्नेजस्ता समस्याहरू लगातार दुई–तीन हप्तासम्म भएमा अवसादको शंका गरिन्छ । अवसादको यकिन कारण यही हो भनी ठोकुवा गर्न नसकिने भए तापनि यो जुनसुकै अवस्थामा जति बेला पनि जो सुकैलाई हुन सक्छ, जसको प्रयोजन सबैको हकमा एउटै नहुन पनि सक्छ । अवसाद देखिने बित्तिकै उपचार गरेमा निको हुने सम्भावना शत प्रतिशत हुन्छ, अन्यथा रोग उच्च स्तरमा पुगेमा सामान्य अवस्थामा ल्याउन लामो समय लाग्न सक्छ ।
अवसादको प्रथम चरणमा संयमित, शान्त र धीर रहन प्रेरित गर्नुपर्दछ भने दोस्रो चरणमा मनोविज्ञको परामर्श लिनुपर्दछ र अन्तिम चरणमा मनोचिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्दछ । कसैलाई परामर्शबाट विना औषधी निको हुन्छ भने केहीलाई औषधी सेवनद्वारा उपचार गर्नुपर्दछ र अन्यलाई घर–परिवारसँग सहकार्य गरी चिकित्सकीय पद्धतिद्वारा उपचार गर्नुपर्दछ । बंशाणुगत अवसादमा औषधी सेवनको विकल्प नै हुँदैन भने मनोवैज्ञानिक वा मनोसामाजिक सन्र्दभहरूमा उचित परामर्शले ठिक गर्दछ । करिब ६० प्रतिशत अवसादका बिरामी औषधी सेवनबाटै ठिक हुन्छन् भने बाँकीको हकमा अस्पतालको उपचार विधि आवश्यक पर्दछ । मस्तिष्कमा रासायनिक असन्तुलनले अवसाद हुने भएकोले यसको अवस्था, प्रकृति र गाम्भिर्यतालाई निक्र्याेल गरी उपचारमा कसैलाई कम वा लामो समय लाग्न सक्छ ।
अवसादको कारक तत्वहरूमा घरकलह, दीर्घरोग, सदभावको कमी, ईच्छाशक्तिको अभाव, प्रगति गर्न असक्षम, असुरक्षित यौन चाहना, चुनौतिको सामना गर्न नसक्नु र अपमानित वा शोषित भईरहनु आदि पर्दछन् । त्यस्तै, बेरोजगारी, नोक्सानी, वैदेशिक रोजगारी, अनियन्त्रित खर्च र ऋणभार आर्थिक कारणहरू हुन्, जुन करिब ६० प्रतिशत अवसादको प्रमुख कारक तत्व मानिन्छ । साथै, नचाहिँदो घमण्ड, कमजोर आत्मबल, अप्रिय घटना, प्रकृतिक विपत, धनजनको क्षति र सामाजिक सञ्जाल अन्य कारणहरू हुन् । मस्तिष्कमा खुसी ल्याउने हर्मोन सेरोटोनिन र मनोएमाइन्सजस्ता बायोकेमिकल पदार्थको कमीले समेत अवसाद हुन्छ । यसर्थ तनाव निर्मूल गर्ने बहानामा केहीले मादक पदार्थ सेवन गर्छन्, जसले अवसादलाई थप बढाउँछ ।
अवसादको लक्षणहरूमा रुने, रिसाउने, झर्किने, चिढिने, एकोहोरिने, डराउने, खर्चालु, भनेको नमान्ने, झगडा गर्ने, आक्रामक हुने, जिद्दी गर्ने, शारीरिक कमजोरी, खेल्न–डुल्न नमान्ने, निद्रा–भोक नलाग्ने र नबाँच्ने सोच आदि पर्दछन् । त्यस्तै, अत्यधिक खुसी हुने वा दुःख लाग्ने, आवश्यकताभन्दा बढी जाँगर चल्ने वा अत्यन्तै सुस्त हुने र धेरै बोल्ने वा बोल्दै नबोल्ने अन्य लक्षणहरू हुन् ।
बेलायतको म्यान्चेस्टर मेट्रोपोलियन युनिभर्सिटीअनुसार शरीरको रगतमा बोसोयुक्त कोलेस्ट्रोल र कार्बोहाईडेटको मात्रा बढी भएको जंकप्फुड डजस्ता खाद्यपदार्थको सेवनले मानिसमा करिब ४० प्रतिशतसम्म तनाव बढाउँछ भने भिटामिन डीको कमीले अवसादलाई करिब ७५ प्रतिशतसम्म बढाएर आत्महत्या गर्न प्रेरित गर्दछ । मानिस जीवनभर उदास हुने सम्भावना करिब १७ प्रतिशत भएकोले नकारात्मक भावना मनमा खेलाउने प्रवृत्तिले गर्दा पुरुषको तुलनामा महिलामा दोब्बर उदासीपन देखिँदा पुरुषमा चालिस र महिलामा तीस वर्षको हाराहारीमा एवम् अविवाहित र एक्ला व्यक्तिमा अवसाद ज्यादा देखिन्छ । तनाव व्यवस्थापन नभएमा करिब ६५ प्रतिशत मानिसलाई अवसादजन्य कडा टाउको दुख्ने रोग माइग्रेनले सताउँछ । यद्यपि केही अवसादका बिरामीहरू दुखाई कम गर्ने ट्रेङ्कुलाईजर र मानसिक रोगका औषधीहरूको कुलतमा परेर लागूऔषध दुव्र्यसनी समेत बन्न सक्छन् ।
अवसादको लक्षणहरूमा रुने, रिसाउने, झर्किने, चिढिने, एकोहोरिने, डराउने, खर्चालु, भनेको नमान्ने, झगडा गर्ने, आक्रामक हुने, जिद्दी गर्ने, शारीरिक कमजोरी, खेल्न–डुल्न नमान्ने, निद्रा–भोक नलाग्ने र नबाँच्ने सोच आदि पर्दछन्
मानसिक रोग भन्नासाथ पागलपन ठानिने गलत धारणाले गर्दा साधारण मानसिक समस्याको समेत चर्चा हुँदैन । बदनामी हुने डर, कलंक वा शंकोचका कारण धेरैले मानसिक स्वास्थ्य समस्यालाई लुकाउँछन् । कतिपय मानिस भित्रभित्रै गुम्सिएर अवसादबाट ग्रसित भईसक्दा पनि खुलेर बाहिर आउँन नसक्नुमा आँट, चाहना र आत्मबिश्वासको कमी देखिन्छ । अवसादको निदानमा सामाजिक चिन्तन, चेतना र संवेदनशीलता ज्यादा बाधक देखिन्छ भने गरिबी, अशिक्षा, मनोविद् र मनोचिकित्सकको अभाव, मानसिक अस्पताल र औषधीको कमी तथा स्वास्थ्यप्रतिको उदासीनता उपचारका अड्चनहरू हुन् ।
‘‘चिन्ताले कहिल्यै हिजोको दुःख मेट्दैन, आजको आनन्द समाप्त गरिदिन्छ’’ भन्ने प्रसिद्ध अमेरिकी लेखक लियो बुस्कागलिकाको भनाईअनुसार भविष्यमा आर्ईपर्ने समस्याको चिन्ता गर्नुभन्दा तनाव हुनुको मुख्य कारण पत्ता लगाई समाधानको उपाय खोजेर निरन्तरको अभ्यासद्वारा अवसादलाई कम गर्न सकिन्छ ।

आयुर्वेदअनुसार अश्वगन्धा, कुरिलो, झुसे करेला, चट्टेल र च्याउको सेवनले अवसाद घटाउन सघाउँछ । घाम ताप्नाले शरीरमा भिटामिन डी र बिटाईन्डोर्पिmनको मात्रा बढ्न गई रोगप्रतिरोधात्मक क्षमता बढाएर अवसादबाट जोगाउँछ । कामको बोझलाई आवश्यकता र महत्वका आधारमा वर्णीकरण गरी योजनाअनुरूप कार्य गर्दा विषयादि झमेलाबाट मुक्त गराउँछ । धूम्रपान र मद्यपानरहित सकारात्मक सोच, आवश्यक व्यायाम र आराम, समय तालिकाअनुसार पर्याप्त र सन्तुलित आहार, नियमित सुत्ने र उठ्ने बानी, थकित हुने कार्य नगर्ने, एक्लै नबस्नेजस्ता नियमहरूको इमान्दारीपूर्वक पालनाद्वारा मन, मस्तिष्क र शरीरको द्वन्द्व समाप्त भई अवसादबाट बचाउँछ । अवसादबाट मुक्तिका लागि जीवनशैलीमा व्यापक रचनात्मक परिवर्तन अत्यावश्यक भएकोले आध्यात्मिक चिन्तन, योग, ध्यान र प्राणायामलाई दैनिकी बनाउँदा मन स्थिर हुन्छ, विचार शुद्ध हुन्छ र धैर्यताको क्षमता बढ्छ भने संगीत, घुमघाम, मनोरञ्जन, घरपालुवा जनावर र हरियाली वातावरण आदिले शान्ति, आनन्द र सुखको अनुभूति गराउँछ ।
श्रीमद्भगवद्गीताको प्रथम अध्यायको सुरुमै अवसादको विश्व प्रसिद्ध वर्णन ‘अर्जुनविषादयोग’ छ । युद्धभूमिमा विषादले आक्रान्त भएका अर्जुन धनुवाण छोडेर रथको कुनामा थचक्क बसेपछि श्रीकृष्णबाट प्रकट गरेका योगशास्त्रसहित व्रह्मविद्याज्ञानले अर्जुनलाई विषादबाट पूर्णतः निर्मूल गर्दछ । ‘‘युद्धारम्भ बेलामा स्वजनप्रतिको स्नेह अर्जुनमा उर्लेर आयो । युद्धबाट हुने स्वजनविनाशलाई सम्झेर उनलाई विषाद भो । श्रीकृष्णबाट अर्जुनलाई उपदेश नगरी नहुने परिस्थितिको सृजना भयो । बाबु, बाज्ये, गुरु, छोरा आदिसँग स्नेहविच्छेदको सम्भावनाबाट अर्जुनलाई शोक भएको छ; मर्ने र मार्ने भन्ने मोह उठेको छ; स्वधर्मबाट निबृत्ति र परधर्ममा प्रबृत्तिको इच्छा उब्जेको छ । यो स्थितिमा अर्जुनलाई आत्माको यथार्थ ज्ञान र कर्मयोगको बोध नगराई नहुने भएको छ, साथै कर्मयोगनिष्ठा र ज्ञानयोगनिष्ठाको सम्बन्धसूत्रस्वरूप भक्तियोग अर्थात् उपासनायोगको समेत ज्ञान गराउनु अत्यन्त आवश्यक छ । यसले कर्म, उपासना र ज्ञान तीनै योगको उपदेशको अवतरणिका तयार पारेको छ । यो अनुबन्धकथनाध्याय पनि हो । शास्त्रको शुरुमा चार अनुबन्ध नबताई नहुने प्राचीन परम्परा छ । बिषय, सम्बन्ध, प्रयोजन र अधिकारी । यी चारलाई अनुबन्धचतुष्टय भनिन्छ । शोकमोह हटाउने विद्या गीताको विषय हो; शोकमोहनाश यसको प्रयोजन हो; यो लोक र अन्य लोकको समस्त विषयभोगमा विरक्त भएको, शोकमोहनाशको इच्छा गर्ने, भगवान्मा र गुरुमा पूर्ण श्रद्धा र भक्तिका साथ आत्मसमर्पण गर्ने मनुष्य यो गीताशास्त्रको अधिकारी हो अर्थात् यस्तो मनुष्यले गीताका कुराहरू सुन्न, सम्झन, बुझ्न, विचार गर्न र पत्याउन सक्छ (श्रीमद्भगवद्गीता–गीतालोकभाष्य, अम्बिकाप्रसाद अधिकारी, पृ.१२, द्रो.सं., ललितपुर, २०५७) ।’’
अवसादको उपचार सर्वत्र सुलभ, सुपथ र सुगम भएको सन्देश संप्रेषण गर्न जरुरी छ । मनोसामाजिक परामर्शदाताको आवश्यकता केही हदसम्म पूर्तिका लागि स्थानीय तहका विद्यालयका स्वास्थ्य शिक्षकलाई प्रभावकारी तुल्याउन सकिन्छ । मनोशिक्षा, मनोविमर्श, औषधीको पर्याप्तता, स्वयं हेरचाह विधि, नियमित स्वास्थ्य परिक्षण, पर्याप्त स्वास्थ्य जनशक्ति र आवश्यक चिकित्सकीय सहयोगका लागि राष्ट्रिय स्वास्थ्य नीतिको समयानुकुल परिमार्जन आवश्यक छ । अवसादजन्य सामाजिक त्रासदीको सुरु अवस्थामै रोकथामका लागि स्थानीय तहका सरकारलाई उत्तरदायी र जवाफदेही बनाउनै पर्दछ । आर्थिक विचलनले परिवारिक द्वन्द्व निम्त्याई आत्महत्या, हत्या, चोरी, डकैती, हिंसा र लुटपाटमा रूपान्तरण हुने खतरालाई न्यून गर्न आर्थिक क्षेत्रमा व्यापक सम्बोधन आवश्यक छ । कोभिड–१९ को महामारीले सिर्जना गरेको अवसादजन्य चरम आर्थिक संकटले आमन्त्रण गर्ने सामाजिक, आर्थिक र भौतिक अपराध नियन्त्रणमा स्थानीय, प्रदेश र संघीय सरकार थप जिम्मेवार भई नागरिक हितका खातिर आय आर्जनसहितका उत्पादनशील कार्यक्रमहरू ल्याउन जरुरी छ ।
अवसादको अजंग द्वार ल्याकतविनाको आशा भएकोले अनन्त आशा र अपूर्ण चाहनालाई समयमै रोक्न आकांक्षा नियन्त्रणको सीप सिक्न अपरिहार्य छ । यसर्थ पीडा, संवेग र असफलतालाई सहजै स्विकार गरी जे हुन्छ राम्रैका लागि हुन्छ र काम गर्दा सफल वा असफल भईन्छ भन्ने मनन गर्न आवश्यक छ । अमूल्य जीवनलाई सरल र सकारात्मक ढङ्गले परिचालन गरी स्वस्थ्य, सुखी र शान्त मनद्वारा प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउन जरुरी छ । अवसादबाट ठिक भएको सन्र्दभमा भनिन्छ, ‘आनन्दको अनुभूति आपूmभित्रबाट गर ! जे छ तिमिभित्रै छ ! अन्तर्मुखी भएर आपूmभित्र आपैmलाई नियाल ! बहिर्मुखताले आनन्दको अनुभूति हुदैन !’
अवसादमा जीवन यापन गरी रहेकाले निःसृत भावद्वारा अवसादको आत्मिक स्वीकारोक्ती, उपचारको याचना र सफलताको कामनासहित सार्थक, सुन्दर र अतूल्य जीवनयात्रा तय गर्नु श्रेयकर छ । अदम्य सर्घष, अनुपम अठोट र बलियो आत्मविश्वासद्वारा नै अवसादको सरल एवम् सफल प्रबन्धन सम्भव छ ।
(अधिकारी सामाजिक अभियन्ता हुन्)






