डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने व्यक्तिलाई कारबाही गर्न थालेको छ । बागबजार प्रहरी चौकीले जिल्ला सदरमुकाममा विना मास्क हिँड्डुल तथा सवारी साधानहरु चलाउनेहरुलाई कारवाही गरी जरिवाना लिन थालेको छ ।
लकडाउन खुले पनि कोराना भाइरसको जोखिम उच्च रहेकोले कोरोना संक्रमणबाट जोगिनका लागि प्रहरीले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने बताएको छ । डडेल्धुरा जिल्ला सदरमुकाममा हिँड्डुल गर्ने तथा सवारी साधानहरु चलाउनेहरुले मास्क प्रयोग नगर्न छोडेपछि प्रहरीले कारवाही गर्न शुरु गरेको छ ।

कयौ व्यक्तिहरु खल्तिमा मास्क राखेर हिड्ने तर प्रयोग नगरि रहेको देखिन्छ । शुक्रबार बागबजार क्षेत्रमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र शसस्त्र प्रहरीले संयुक्त रुपमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई कारबाही थालेको छ । प्रहरी नायव निरीक्षक चन्द्र सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मास्क प्रयोग नगर्ने ६४ जनालाई शुक्रबार कारवाही गरी ६ हजार ४ सय राजस्व समेत संकलन गरेको छ ।
बागबजार क्षेत्रमा प्रहरीले मास्क प्रयोग गर्न माइकिङ गर्दा समेत मास्क प्रयोग नगर्ने व्यक्तिहरुलाई कारवाही गरिएको प्रहरी नायव निरीक्षक धामीले बताए । प्रहरीले मास्क लगाए नलगाएको चेकिङ गरेपछि मात्रै कयौ पैदल यात्रु तथा सवारी चालकहरुले खल्तिबाट मास्क निकालेर प्रयोग गरिरहेका थिए । घर बाहिर निस्कँदा तथा सवारी साधानहरु संचलान गर्दा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र प्रयोग नगरेको पाईएमा तत्काल कारवाही गरिने प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले बताए ।






