काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफूलाई दुव्र्यवहार भएको आरोप लगाएका छन् । महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफूले फरक मत राख्दा संघका सदस्य दीपक महर्जनले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् ।
कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल गर्नुपर्ने विषय बहुमतको आधारमा लैजान खोजिएपछि आफूले फरक मत राखेको कारण दुव्र्यवहार भएको भट्टाचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफूलाई दुव्र्यवहार हुँदा संघका अध्यक्ष राम अवालेसँगै भए पनि अध्यक्षबाट कुनै पनि प्रतिक्रिया नआएपछि आफूले विज्ञप्ति निकाल्न बाध्य भएको बताएका छन् ।
‘शुक्रबारको बैठकमा उपस्थिति न्यून नै थियो । प्रस्ताव गरिएका विषयहरूमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरूबाट छलफल नै नगरी बहुमतका आधारमा जबरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात् लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे ।’ विज्ञप्तिमा भनिएको छ, ‘आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो । मैले आफूमाथि भएको अभद्र व्यवहारका ’boutमा उहाँलाई जानकारी गराए । तर, उहाँबाट केही प्रतिक्रिया नआएपछि मैले बाध्य भएर यो प्रेस विज्ञप्ति जारी गरेको हुँ ।’
कोरोनाको कारण लामो समयपछि बक्सिङ संघले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । महासचिव भट्टाचार्यले राजधानी बाहिर भएका पदाधिकारीहरूकोको असन्तुष्टिका बाबजुत बैठक डाकिएको समेत बताएका छन् । भट्टाचार्यले दीपक संघको सदस्य भए पनि उपस्थितिमा हस्ताक्षर नगरी पूर्ण कार्यसमिति बैठकमा कुन हैसियतमा उपस्थित भएको भनेर प्रश्नसमेत गरेका छन् । राखेपको नयाँ खेलकुद विकास ऐनसमेत दीपकले नमानेको महासचिव भट्टाचार्यको आरोप छ ।
दीपक संघको सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हुन् । हालै लागू भएको नयाँ खेलकुद विकास ऐनअनुसार नेपाल बक्सिङ संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म उनले दुवै पद छाडेका छैनन् । महासचिव भट्टाचार्यले संघमा आर्थिक अनियमितता हुँदै आएको आरोपसमेत लगाएका छन् । यस्तै, भट्टाचार्यले संघ एकलौटी र तानाशाही ढंगबाट चल्दै आएको समेत बताए । उनले यो कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदनसमेत पास नभएको बताए ।






