काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । साहित्य (पद्य÷काव्य) विभाग प्राज्ञ प्राडा हेमनाथ पौडेलले मुलुकका सात वटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताए ।
प्रादेशिक इतिहास विगतमा नलेखिएकाले प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको पौडेलको कथन छ ।
डा. पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश १ का लागि प्राडा भोलानाथ पोखरेल, प्रदेश २ का लागि तोयाराज घिमिरे, बाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्राडा यदुनाथ ढकालले अनुसन्धान तथा लेखन सुरु गरेका छन् ।
यस्तै, प्रदेश ५ का लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद विनाडीलाई अनुसन्धान तथा लेखन जिम्मेवारी प्रदान गरिएको पनि उनले बताए ।
प्राज्ञ प्राडा पौडेलले भने, ‘प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत नेपाली कविताको इतिहास लेखन कार्यको थालनी गरिनेछ ।’






