सुदूरपश्चिमका १६ जना प्रहरीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित हुने प्रहरीमा ४२ वर्षका दुईजना र ४४ वर्षका एकजना रहेको बताए । कैलाली प्रहरी प्रबक्ता डीएसपी प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा कोरोना संक्रमण देखिएको बताए । कोरोना संक्रमण देखिएका तीनैजनालाई आइसोलेसनमा राखिएको डीएसपी विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुबेदीले सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको बताए । उनका अनुसार संक्रमित हुनेमा बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई गरी १६ जना रहेका छन् । संक्रमित मध्ये २ जना कोरोना निको भएर फर्किसकेका छन् ।

थप १० जनामा कोरोना संक्रमण
सुदूरपश्चिममा बिहीबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । धनगढी र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ७९ जनाको कोरोना परीक्षण गरिएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण संक्रमण देखिएको हो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन सय ५२ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो ।

योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या चार हजार नौँ सय ६९ पुगेको छ । यसमध्ये सबै भन्दाबढी कैलालीमा एक हजार दुई सय ८५ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८०, डडेल्धुरामा तीन सय १२, बैतडीमा तीन सय एक, बझाङमा दुई सय ९६ र दार्चुलाका ४५ जना रहेका छन् । संक्रमितमध्ये चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ