टुरिन । इटालियन च्याम्पियन युभेन्ट्सका डिफेन्डर म्याथ्थिस डि लेग्ट तीन महिना मैदानबाहिर रहने भएका छन् । दाहिने कुमको सफल शल्यक्रियापछि डि लेग्ट कम्तीमा पनि तीन महिना मैदानबाहिर रहने पक्का भएको क्लबले जनाएको छ । डि लेग्टको बुधबार रोममा सफल शल्यक्रिया भएको थियो ।
तीन महिना बाहिर रहने भएपछि नेदरल्यान्डका डिफेन्डर डि लेग्टले सिरी ‘ए’को नयाँ सिजनको सुरुवाती खेलहरू गुमाउनेछन् । २१ वर्षीय डि लेग्टले गत नोभेम्बरमै कुममा चोट बोकेका थिए । गत शुक्रबार लियोनविरुद्धको खेलमा चोट थप बल्झिएपछि उनको शल्यक्रिया गर्नुपरेको थियो । जहाँ एक सर्जन र दुई चिकित्सकले उनको कुमको शल्यक्रिया गरेका थिए । युभेन्ट्सका मेडिकल प्रमुख लुका स्टेफानिनीले डि लेग्टको शल्यक्रियाको निरीक्षण गरेका थिए । उनले यसलाई पूर्ण सफलता भनेका छन् ।
सेन्टरब्याक डि लेग्ट गत समरमा डच क्लब आयाक्सबाट ६७ मिलियन पाउन्डमा युभेन्ट्स आएका थिए । डि लेग्टले सिरी ‘ए’मा २६ खेल खेलेका छन् । सुरुवातमा राम्रो छाप छाडेका डि लेग्टले चोट बोकेपछि युभेन्ट्सको डिफेन्सलाइन निकै कमजोर बनेको थियो । उनी प्रतिबन्धमा रहँदा युभेन्ट्सले एसी मिलानसँग ४–२ को लज्जास्पद हार बेहोरेको थियो । च्याम्पियन बन्ने पक्का भएसँगै युभेन्ट्सले आफ्ना स्टार खेलाडीलाई विश्राम दिदा युभेन्टस सिरी ‘ए’को अन्तिम दुई खेलमा पराजित भएको थियो ।






