उद्यमीलाई वित्तीय साक्षरता तालिम दिइने

काठमाडौं । घरेलु तथा साना उद्योग व्यवसायी महासंघले उद्यमीलाई वित्तीय साक्षरता तालिम दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र एनएनबी बैंकको सहयोगमा महासंघले उद्यमीलाई वित्तीय सारक्षरता दिन लागेको हो ।

उद्योग व्यवसाय गर्ने उद्यमीलाई आफ्नाे उद्योगको आय व्याय राख्ने सहज होस् र उद्योगका लागि बैंकबाट लोन लिन सहज होस् भन्ने उद्देश्यले महासंघले उद्यमीलाई वित्तीय साक्षरता तालिम दिने लागेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । उनले सातै प्रदेशका उद्यमीलाई सो साक्षरता तालिम दिइने बताए । अहिले विश्वभर महामारीकोरूप फैलिएको कोरोनाका कारण प्रत्यक्ष उपस्थित भई तालिम दिन नसकेपनि जुमद्वारा तालिम दिइने बताए । उनले सो साक्षरता तालिम भदौ महिनाभित्र नैदिइन सुरु गरिने बताए ।

वित्तीय साक्षरता तालिमद्वारा उद्यमीलाई आफ्नाे उद्योगमा गरेको उत्पादनको नाफा नोक्सान राख्न राम्रो सहयोग पुग्ने अध्यक्ष सिंहको भनाइ छ । अध्यक्ष सिंहका अनुसार सो साक्षरता तालिमका लागि उद्योग दर्ता गरेको हुनुपर्नेछ । एकल महिला, अपांग, विदेशबाट फर्केका युवा स्वदेशमै उद्यमी बन्न चाहाने, कृषि उद्यमी महिलालाई पहिलो प्राथमिकता दिइनेछ ।

अध्यक्ष सिहंले भने,‘अधिकांश उद्यमीले आफ्नाे उद्योगको आयव्याय नै राख्दैनन् । उनीहरूलाई आफ्नाे उद्योगकोे आयव्याय राख्न प्रेरित गर्न वित्तीय साक्षरता कार्यक्रम गर्न थालेको हो । करिब साढे ४ लाख घरेलु तथा साना उद्योग दर्ता नै नभएर सञ्चालन भइरहेका छन् । उनले भने,‘वित्तीय साक्षरता कार्यक्रमले सो उद्योग कानुनी रूपमा आउने छन्भन्ने हाम्रो विश्वास छ’ ।

कानुनी रूपमा सञ्चालन नभएका उद्योग कानुनी रूपमा आउँदा उनीहरू करको दायराभित्र पर्ने छन् । सबै उद्योग करको दायरामा आउँदा राज्यलाई पनि सहयोग पुग्नेछ । उनले भने,‘उद्यमीलाई वित्तीय साक्षरता तालिम दिनुको अर्काे मुख्य उद्देश्य सबै उद्योगलाई करको दायरामा ल्याउनु पनि हो ।’ राज्यलाई कर तिर्दै आएका उद्योगलाई करको दायरा भन्दा बाहिर रहेका उद्योगसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो छ । उनीहरूले राज्यलाई कुनै कर नतिरेर नाफा लिइरहेका हुन्छ । त्यसैले पनि सबै उद्योग करको दायरामा रहेर प्रतिस्पर्धामा आउन सक्ने महासंघको विश्वास छ ।

उनले एनएमबीबैंकको सहयोगमा दुई वर्षअघि सातवटा जिल्लामा महिला उद्यमीलाई वित्तीय साक्षरता तालिम दिएको बताए । त्यसपछि अहिले दिन लागेको उनले बताए । अहिले सातै प्रदेशका हरेक जिल्लाका कम्तीमा ३० जना उद्यमीलाई साक्षरता तालिम दिने योजना रहेको उनले बताए ।

योसँगै उनले सहुलियत कर्जाका लागि राष्ट्रिय बाणिज्य बैंक र एनएनबी बैंकसँग सम्झौतासमेत भएको जानकारी दिए । उनले गतवर्ष सहुलियका कर्जाका लागि महासंघले ४४ वटा फाइल पठाएकोमा जम्मा एउटाले मात्र सहुलियत कर्जा पाएको बताए । सो सम्झौतापछि गतवर्ष सहुलियतका लागि पठाएका ३२ वटा फाइल अघि बढाउने राष्ट्र बैंकले निर्णय गरिसकेको समेत महासंघका कार्यवाहक अध्यक्ष सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 868 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३